पाँच दिनदेखि अवरुद्ध रहेको बेनी-पोखरा सडकखण्ड अन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझ देखि एकतर्फी रूपमा सुचारु भएको छ । पहिरोमा रहेका ठुला ढुंगा बिष्फोट पछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो ।

विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि मंगलबार दिनभर पहिरो हटाउने काम गरेकाले एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । एकतर्फी रूपमा सडक खुलाएपछि मालबहाक सवारीहरू पनि गन्तव्यतर्फ लाग्न थालेका छन् ।

जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा गत असार २४ गते सडकमाथिबाट अजमानका ढुङ्गासहित आएको पहिरोका कारण बाटो अवरुद्ध अवस्थामा थियो। पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको थियो।

डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सुचारु गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिने निर्णय भएको थियो। सोहीअनुसार नेपाली सेनाको पर्वतमा रहेको केवलजंग गुल्मले म्याग्दी पुगेर विस्फोटक पदार्थ ल्याएपछि सोमबार पहिरोस्थलमा विस्फोट गराइएको हो।

दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङ अन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि काम चलाऊ वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग भएको थियो।उक्त सडकमा साना सवारीहरू गुडाउन सकिए पनि ठूला सवारीहरू गुड्न नसक्दा मालवाहक सवारीहरू भने बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका थिए।

लोकमार्गको अर्मादीदेखि सहस्रधाराको खण्ड करिब डेढ किलोमिटर लम्बाइको छ। तर अहिले सवारीहरू गुडिरहेको अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा खण्ड कम्तीमा पनि सात किलोमिटर छ। पहिरो पन्छाउन नसकेपछि सवारीहरू करिब ६ किलोमिटर लामो कच्ची र दुःखदायी सडकबाट चल्न बाध्य भएका थिए।

Leave a Reply