---Advertisement---

अभिभावकविहिन बालबालिकालाई मल्लाज कोरिया समाजले अक्षय कोष स्थापना

On: July 13, 2021 10:29 PM
Follow Us:

पर्वतको जलजला गाउँपालिका–२,गौराटोलमा अवस्थित समाज कल्याण आधारभुत विद्यालयमा अध्ययनरत अभिभावकविहिन तथा दलित बालबालिकाका लागि अक्षय कोष स्थापना गरिएको छ ।

आमाबुबाले जोडेर गएपछि विचल्लीमा परेका बालबालिकाको शिक्षादीक्षामा समस्या भएको समाचार सार्वजनिक भएपछि मल्लाज कोरिया सम्पर्क समाजले १ लाख ११ हजार १११ र विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर जिसीले ३ हजार ३३३ सहयोग सहयोग गरेको स्थानीय यूवा नविन जिसीले जानकारी दिए ।

अभिभावकविहिन बालबालिकालाई आफन्तले आश्रय दिएपनि पठनपाठनमा समस्या भएपछि कोषको स्थापना गरिएको प्रअ जिसीले बताए । ‘बालबालिकाको समस्याका बारेमा सञ्चारमाध्यममा आएपछि सबैतिरबाट चासो देखाउनुभएको छ,‘कोषको आकार बढाउँछौ’ प्रअ जिसीले भने ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत अभिभावकविहिन इसा पाख्रिन, दिवस नेपाली, आशा नेपाली र अस्था नेपालीलाई समाजले ५ हजारको दरले सहयोग समेत गरेको थियो । कोष स्थापनाको अवसरमा वडा अध्यक्ष एवम् मल्लाज कोरिया समाजका संस्थापक गोविन्द खत्रीले अत्यन्त गरीब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा ठूलो समस्या परेको बताए । उनले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट थप सहयोगको आवश्यकता रहेको बताए।

विपन्न बालबालिकालाई शैक्षिक साम्रागीदेखि ओड्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्न समेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई स्थानीय यूवा नविन जिसी र रविन जिसीको अगुवाईमा अभियान समेत सञ्चालन गरिएको थियो ।

सहयोग हस्तान्तरण तथा कोष स्थापनाको अवसरमा कोरिया समाजका पूर्व अध्यक्ष बाबुराम कार्की, समाजका सदस्य पूर्णबहादुर बरुवाल र सुरज जिसी लगायतको उपस्थिती रहेको थियो । बेनीअनलाइन, नागरिक राष्ट्रिय दैनिकमा बालबालिकाको समस्याका बारेमा समाचार प्राथमिकताका साथ प्रकाशित भएको थियो ।