म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १३७ वटा पुर्बाधार सम्बन्धी योजना निर्माण गरेको छ । ९ वटा गाउँपालिका स्तरीय गौरवका योजना र १२८ वटा वडा स्तरीय योजना निर्माण भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले १३४ वटा उपभोक्ता समिति र तीन वटा निर्माण ब्यवसायी मार्फत कार्यान्वयन भएको बताए । कुल १४२ वटा योजनाका लागि बजेट बिनियोजन भएको थियो ।

पलिकाभर गत आर्थिक वर्षमा ११ किलोमिटर ६९१ मिटर सडकको नयाँ मार्ग खोलेको रघुगंगाले पाँच दशमलब दुई किलोमिटर पदमार्ग निर्माण गरेको छ । १५० घरधुरीमा खानेपानी सुबिधा बिस्तार, दुई दशमलब पाँच किलोमिटर सिचाई नहर निर्माण, एक वटा हरियाली पार्क, एक वटा पोखरी र दुई वटा बिद्यालय भवन निर्माण गरेको छ ।

१४ किलोमिटर सडक मर्मत, ११ किलोमिटर सडक स्तरोन्निति र दुई वटा झोलुङ्गे पुल र दुई वटा सामुदायिक भवन निर्माण भएको छ । दग्नाम र दर्मिजाको सिमानामा रहेको अजिंगर भिरमा मार्ग खोलेर दर्मिजा, चिमखोला र कुइनेमंगलेलाई सिधा सडक सञ्जालमा जोड्नु रघुगंगाको गत आर्थिक बर्षको मुख्य उपलब्धी बनेको छ ।

मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सञ्चालन गरेका योजनाबाट एक लाख पचास हजार जना बराबरको रोजगारी सिर्जना भएको छ । सामाजिक सुरक्षा भत्ता सहित कुल ४९ करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको रघुगंगाले समग्रमा ७८ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फ ८२ र पुजिगत तर्फ ७० प्रतिशत बजेट खर्च भएको हो ।

Leave a Reply