बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका-३, गलेश्वर पुलपारी सडकमाथिबाट खसेको पहिरो पन्छाउन आनकानी गर्ने ओमकार्यश्वर कन्स्ट्रक्सनका इन्जिनियर र सुपरभाइजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खसेको हिलो, लेदो सहितको पहिरोले आवतजावतमा सास्ती भएपनि हेलचक्राई गर्ने, पहिरो प्रभावित स्थानीयको अनुरोधलाई समेत बेवास्ता गर्ने ठेकेदार कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी एवम् प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङले जानकारी दिए ।

गएको असार २४ गतेदेखि अवरुद्ध भएको सडक साउनको १ गतेसम्म खुलाउन विभिन्न बाहना गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रजिअ गणेशबहादुर अधिकारी, प्रनाउ श्यामकुमार राई सहित सुरक्षा निकायको टोलीको स्थलगत अनुगमनमा समेत ठेकेदारले विभिन्न बाहना गरेपछि तत्काल नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।

‘दैनिक सर्वसाधारणले सास्ती खेपिरहेका छ,‘ठेकेदारले अनेक बाहना बनाउने गरेका थिए’ एक स्थानीयले भने । ठेकेदारले लापरबाही गरेपछि स्थानीयले पटकपटक सरोकारवाला निकायलाई गुहार मागेपनि सुनुवाई हुन सकेको छैन् । सडक विस्तारकै क्रममा भएको लापरवाहीले गलेश्वर पारीको सिंगो बस्ती नै विस्थापित भएको छ ।सडक निर्माण सहित विकासे गतिविधिमा कुनै खालको हेलचक्राई भएको पाईएमा नियन्त्रणमा लिएर कारवाही गरिने समेत चेतावनी दिइएको छ । यसैबीच बेनी दरबाङ सहित जिल्लामा मुख्य सडकहरु समेत अलपत्र छन् ।

Leave a Reply