व्यवसायिक जीवनमा फुर्सद हुँदासाथ पदयात्रामा निस्कने मेरो आनिबानीप्रति कतियय मित्रहरूले मेरो व्यवसाय र पदयात्राको रुचि  अनि समयको व्यवस्थापनबारे जिज्ञासा राख्नुहुन्छ।पदयात्राको रहर नवीन ठाउँको अनुभवको लागि यात्राको चाहना नभएको त होइन तर व्यवसायिक फुर्सद मिलाउन नसकेर होला। संसारका अति व्यस्त उच्चपदस्थ अधिकारीहरू र ठूला-ठूला व्यवसायीहरू त फुर्सद निकाली यात्रामा निस्कन्छन् भने हामीहरूले फुर्सद नपाउनु भन्ने कुरा त बहानामात्र हो।स्वास्थ्यका दृष्टिकोणबाट पनि पदयात्रा जीवनको लागि अति आवश्यक हो भन्ने कुराको महसुस आफैं गर्नुपर्दछ।विगत डेढ वर्षदेखि संसार कोरोना महामारीबाट आक्रान्त छ। हामीहरू पनि त्यसको पीडामा छौं। यस महामारीले संसारकै अर्थव्यवस्थामा गम्भीर असर पारेको छ। नेपालजस्तो परनिर्भरतामा रहेको मुलुकलाई यसले नराम्ररी असर गरेको छ।

कोरोना महामारीले सबभन्दा असर पारेको व्यवसायिक क्षेत्र भनेको होटल, पर्यटन र यातायात व्यवसाय नै हो।नेपालमा पनि कोरोना महामारीको दोस्रो लहर सुरू भएको र देशमा पुन: निषेधाज्ञा बन्दाबन्दीबीच हामी अन्नपूर्ण आधार शिविरतर्फको यात्रामा निस्कियौं। अहिलेको यात्राका सहयात्रीहरू उच्चपदस्थ पदीय हैसियतमा रहनु भएको र म यसभन्दा अगाडि पनि सो क्षेत्रको यात्रा गरिसकेको कारण यात्रा टोलीको यात्रा सहज र सफल बनाउने कर्तव्य मेरै थियो।

हाम्रो यात्राको टोलीमा उच्च अदालत पोखरा बागलुङ इजलासका तत्कालीन मुख्य भई काम गर्ने न्यायधीश श्री मोहनबहादुर कार्की, उच्च सरकारी वकिल कार्यालय बागलुङका प्रमुख एवं सहन्यायाधीवक्ता श्री दिनेशप्रसाद घिमिरे, उच्च अदालत पोखरा बागलुङ इजलासका प्रशासकीय प्रमुख रजिष्ट्रार मोहन सुवेदी र सोही अदालतका शाखा अधिकृत रामचन्द्र केसी थियौं।

कोरोनाको महामारीको कारण सबै पर्यटकीय होटल बन्दै जस्तै थिए। बागलुङ बजारबाट दिउँसो हिँडेका हामी सो दिन मट्क्युसम्म गाडीमा र सोपछि १ घण्टाको हिँडाइमा पुगिने झिनुडाँडा बास बस्न पुग्यौं। म पहिला पनि बसिसकेको होटल हटस्प्रिङ कटेजमा फोन गरी व्यवस्था गरिएको थियो। सो होटलमा हामीलाई सत्कार गरियो।

दोस्रो दिन बिहानको नास्ता लिई खाना खाने बेला अर्को सुन्दर पर्यटकीय गाउँ छुम्रुङ पुगियो। पर्यटकीय सिजनमा बाटोमा पर्यटकको भीड छिचोल्न कतिपय अवस्थामा रोकिनपर्ने क्षेत्रको छुम्रुङ गाउँ शान्त थियो। फाट्टफुट्ट पर्यटक देखिन्थे। हामीलाई देख्दा होटल व्यवसायी र स्थानीय नियालेर हेर्थे।

साँच्चै छुम्रुङ गाउँ मलाई अति नै मनपर्छ। त्यहाँको सरसफाइ देख्दा हामीले आफ्नो गाउँ यसरी नै किन सफासुग्घर राख्न सक्दैनौं ? भन्ने प्रश्न बारबार आइरहन्छ। त्यसको लागि खासै मेहनत त गर्नु पर्दैन तर हामीले सरसफाइको संस्कार नै बसाल्न सकेनौं। घान्द्रुक र छुम्रुङबाट केही सिकौं त्यो पनि नि:शुल्क!

छुम्रुङ गाउँको आँखैअगाडि हिउँचुली हिमाल छ। दाहिनेतिर माछापुच्छ्रे र हिउँचुलीपारि अन्नपूर्ण देखिने मनोरम दृष्य अनि बाक्लो गुरूङ बस्ती।

मलिलो र उब्जाउ हुने खेत र बारी सफा बाटो, राम्रा मान्छेहरू, मीठो व्यवहार र सधैं खुसी देखिने छुम्रुङ गाउँ। सो बिहान देउकाजी गुरूङको होटलमा खाना खाई हामी सो दिन ब्याम्बो बस्ने तयारीका साथ बिस्तारै हिँड्ने मुडमा थियौं।

देउकाजी र उहाँको श्रीमती विष्णु गुरूङले बेलुका अपर दोभानमा नै बस्न पुग्नुस् भनि अनुरोध गर्नुभयो।

अपर दोभानमा उहाँहरूको छोरा दिवस गुरूङले व्यवस्थापन गरेको होटल छ। खानाको पैसा लिन पनि मान्नु भएको थिएन। केवल परिश्रमको केही रकम दिई बाटो लाग्यौं।

हामीहरूप्रति देखाउनु भएको माया ममता र सद्भावप्रति सदैव आभारी रहने छौं। पर्यटकप्रति गरिने उहाँहरूको व्यवहारले साँच्चै नै त्यस क्षेत्रको उच्च व्यवसायिक संस्कारको अनुभूति प्राप्त भयो।

खानापश्चात देउकाजी गुरूङको होटल छुम्रुङमा

हामी सो दिन बस्नको लागि अपर दोभान पुग्यौं। बेम्बोबाट माथि लाग्दै गर्दा ठूलो पानी पर्यो। बाटोमा स्याङ्जा र पाल्पाबाट आएका विद्यार्थी भाइहरू भेटिए। घना जंगलबीच भागमै पुग्दासाथ पानीले हामीलाई बेस्सरी पिट्यो। ओत लाग्ने ठाउँ पनि बीचमा छैन। हामीलाई लिन दिवसले तलसम्म छाता समेतको प्रवन्ध गरी सहयोगी पठाइदिनु भयो।

साह्रै चिसो भएको कारण सो साँझ हामीले क्याम्पफायर पनि गर्यौं। मुढा जोडेर आगो ताप्नुको क्या मज्जा! एकान्त ठाउँ अनि घना जंगलको बीच शान्त र मनोरम वातावरण अनि होटलमा हामी मात्रै पाहुना। दिवसको मैत्रीपूर्ण स्वागत, मीठो खाना, आनन्दको सुताइ अनि  सम्झनायोग्य सेवा अविस्मरणीय छन्।

कठिन यात्रामा अमूल्य सहयोगका लागि दिवस गुरूङलाई सम्झिरहने छौं। आफ्ना पाहुनाहरूलाई अप्ठ्यारो पर्दा जस्तोसुकै सहयोग गर्न सक्ने मन भएका यस्तै मानिसहरूको व्यवहारले त सो क्षेत्र पर्यटकीय रूपमा अग्रणी छ।

तेस्रो दिन हामी माछापुच्छ्रे आधारशिविर पुग्ने लक्ष्य थियो तर मौसमले धोका दियो। बिहान अपर दोभानबाट हिँडेका हामी हिमालयमा कफी खाई खाना खान देउराली पुग्दासाथ अविरल पानी परेकोले त्यसदिन देउरालीमा नै बस्ने निधो गरियो। केही विदेशी पर्यटक पनि थिए। माथि आधारशिविर पुगेर फर्केकाहरू पनि बढो कठिनसाथ आएका थिए। उनीहरूले पनि हामीलाई थप यात्रा नगर्न सुझाव दिए। देउरालीमा भएका होटलहरू सबै मिलेर एउटा होटल सञ्चालन गरेका थिए यात्रुको सहजताका लागि। उनीहरूलाई पैसा नपुगेर होइन केवल यात्रुको लागि मात्र सेवा गरेको अनुभूति जो कसैले गर्न सक्दथ्यो। त्यो प्रतिबद्धताप्रति सलाम छ।

पेशा र व्यवसायप्रतिको निष्ठा र यस कठिन परिस्थितिपछिको सहज अवस्थाको धैर्यताका साथ जुन आशा देखियो सायद उनीहरू त्यसैका कारणले सफल थिए। अझै सफल हुनेछन्।

 

चौथो दिन हामी सबेरै हिँड्ने निधो गर्यौं। बिहान ६ बजे नै नास्ता तयार गरिदिन अनुरोध गरेका थियौं। बिहान ६ बजे नै अन्नपूर्ण आधार शिविरतर्फ हिँड्यौं। बगर भन्ने स्थानमा २ ठाउँमा गत साल हिउँ-पहिरो आएर बाटो पूरै रोकेको रहेछ। त्यसमा विदेशी र नेपाली पनि परेर हताहत भएका थिए।

मूलबाटो रोकिएपछि सोको विपरीत क्षेत्रबाट अस्थायी बाटो बनाइएको रहेछ। त्यो बाटो पनि अति खतरायुक्त थियो। अर्कोतर्फ सोस्थान सबभन्दा लेक (हाई अल्टिच्युड) लाग्ने स्थान पनि हो। बिहानै हिँड्दै गर्दा कार्की श्रीमान र केसी सरलाई सोको अलिअलि लक्षण देखिइसकेको थियो। तर उहाँहरूले रिकभर गर्नुभयो। बिहानको खाना खान माछापुच्छ्रे आधार शिविर पुगियो। बाटोमा सानोतिनो हिउँ पहिरो (एभेलान्ज) गइरहेको थियो। माछापुच्छ्रे बेसक्याम्पमा आँपको अचार खाएपछि त के भयो भयो केसी सर यति साह्रो हिँडनु भयो कि पत्याउनै गाह्रो।

उच्च हिमाली क्षेत्रमा हिँडेको उहाँको पहिलो अनुभवले होला उहाँ उत्साहित भएको देखेर मनमनै खुसी लाग्यो। आँपको अचारको प्रभावले त्यसरी लेक लाग्ने कुराको उपचार हुन्छ भन्ने मलाई जानकारी छैन। तर उहाँले त्यसैले मलाई सञ्चो भयो भन्दा मान्ने कि नमान्ने आफ्नै कुरा भयो। लगभग एबिसी पुग्नेबेला डरै लाग्ने आवाजमा हिउँचुली हिमालमा हिउँपहिरो गयो। त्यो डरलाग्दो आवाज र हिउँपहिरोको समेत अनुभूति गर्न पाइयो।

पाँचौं दिन बिहानै मौसम असाध्यै अनुकूल रह्यो। हामीले हिमालमा सूर्योदयको अनुपम दृष्यालोकन गर्न पायौं। अन्नपूर्ण आधार शिविरको वरिपरिको धित मर्ने गरी अवलोकन गर्न पायौं। हामी भाग्यमानी थियौं, मौसम अनुकूल थियो, कोही बिरामी पर्न परेन। म पहिला पनि पटक पटक सो क्षेत्रको पदयात्रा गरिसकेको हुँदा सो क्षेत्रको मौसम तथा अवस्थितिबारे सामान्य जानकारीमा थिएँ। अन्नपूर्ण आधार शिविरमा रहेकाको अन्नपूर्ण स्याङच्युरी होटलमा बस्ने व्यवस्था गरेका थियौं।

सो होटलका सञ्चालक जेबी गुरूङलाई जानुपूर्व फोन गरेको थिएँ। उहाँ पोखरा हुनुहुँदो रहेछ। हामी उहाँकै होटलमा बास बस्यौं।
बिहान ८ बजे नै नास्ता खाई ओरालो सुरू भयो। खाना खान देउराली ओर्लियौं। ब्याब्बोसम्म बस्न पुग्ने योजना थियो। तर झरी सुरू भयो। हिमालय पुग्दा नपुग्दै दिवसको फोन आयो। मौसम अनुकूल थिएन हामी अगाडि बढ्ने साहस गर्ने सकेनौं। केही माथिसम्म हाम्रा ब्याग लिन सहयोगी पठाउनु भयो। दिवसको होटलमा बस्ने निर्णय गरियो।

छैठौ दिन छुम्रुङमा बास बस्ने योजना थियो। तर कोरोना महामारीको दोस्रो लहरको कारण जिल्ला-जिल्लाहरूमा कडा किसिमको निषेधाज्ञा जारी भइरहेको थियो। अब यात्रा सहज थिएन। पदयात्राका अन्य सदस्यहरूको चाहना सो दिन छुम्रुङमा बस्ने हुँदाहुँदै मैले सकभर फर्कने अनुरोध गरेँ।

 

 

 

बिहानको खाना देउकाजी गुरूङकोमा खायौं।  ब्याकप्याक (झोला) आफैं बोकेर बागलुङसम्म फर्कन सम्भव नै थिएन। हामीहरू सबै थाकिसकेका थियौं। मैले हामीहरूका ब्याक प्याक घोडामा मट्क्युसम्म पठाउने व्यवस्थाको लागि विष्णु गुरूङ दिदीलाई अनुरोध गरें। झोला बोक्न नपरेपछि हिँड्न सहज भयो। छिट्टै झिनु पुग्यौ।  घर पुग्न लगभग ३ घण्टाको गाडीको यात्रा थियो। सबै यातायातका साधन बन्द थिए। हामीलाई लिन गाडी आइसकेको थियो। राति ९ बजे मात्र घर पुग्यौं।

यात्राको सुरूदेखि अन्त्यसम्म जहाँ जहाँ बस्यौं, सप्रेम अतिथि सत्कार पायौँ। पर्यटकीय क्षेत्रमा पर्यटकहरू थिएनन्। तर पनि सबै व्यवसायी कोरोना महामारीको अन्त्यपश्चात पुन: व्यवसाय पुरानै लयमा फर्कने आशामा थिए। जो जसलाई भेट्यौं कसैमा निराशा थिएन।  झिनुडाँडाको भाइको सेवा, छुम्रुङमा देउकाजी र विष्णु गुरूङ लगायतको माया र सत्कार अविस्मरणीय छ।  पर्यटकप्रतिको असिम माया यात्राको क्रममा अनुभूति गर्न पायौं।

प्रथम पटक प्रकाशित सेतोपाटी डटकम र लेखकको अनुमतिमा साभार साम्रागी 

विज्ञापन