पहिराका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।

लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानकारी दिए। यस वर्ष मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पहिराले बढी नै असर गरेको छ । सहस्रधारा नजिकै नयाँ पुलमा केही दिन अगाडि विशाल ढुङ्गासहित खसेको पहिरो पन्छाउन एक साता लागेको थियो । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको थियो।

कुश्मा–८ चुवास्थित दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो। बाढीले लोकमार्गकै ठेक्का लिएको लामा कन्स्ट्रक्सनको हाइलक्स गाडीसहित त्यसमा सवार इञ्जिनीयर र चालक बगाएर बेपत्ता बनाएको थियो । गाडी नजिकैको मोदी खोलामा पुगेको अवस्थामा भेटिएको भए पनि ती दुई व्यक्तिको अवस्था भने अज्ञात नै छ ।रासस

Leave a Reply