सम्मानिय शेर दाइ
लाल सलाम !
सर्वप्रथम बधाई छ, सर्वाेच्च अदालतबाट परमादेश जारी गरेर भए पनि धारा ७६ (५) बमोजिम नेपाल देशको ४४ औं प्रधानमन्त्री बन्न सफल हुनु भएकोमा । यस पटक तपाईलाई अघिल्लो चार पटकको आरोप पखाल्ने पुनः सुनौलो मौका मिलेको छ तर यात्रा त्यति सहज भने छैन ।

तपाईंले बधाई पनि नदिई हिनिबक्सेको राष्ट्रपतिलाई जवाफ दिनु छ । कोरोना भाईरसले आक्रान्त देशलाई पार लगाउनु छ । महिना दिन भित्रै संसदबाट विश्वासको मत प्राप्त गर्नु छ । लामो समयदेखि स्थगित हुदै नयाँ मिति तय हुने गरेको आफ्नै पार्टीको महाधिवेशन सम्पन्न गर्नुछ । आमचुनाव सम्पन्न गर्नुछ । स्वच्छ छवि भएका र सक्षम व्यक्ति सामेल गरि मन्त्रीमण्डल गठन गर्नुछ ।

त्यति मात्र होईन कार्यकाल सफल पारी नयाँ चुनाव सम्पन्न गर्नुछ । त्यसैले तपाई पाचौं पटक प्रधानमन्त्री हुनु मेसी र रोनाल्डोले गोल गरे जस्तो संख्या होईन । तपाईंको यो कार्यकालले तमाम नेपाली कांग्रेसका भावि नेता कार्यकर्ताको भविष्य जोडिएकोछ । स्मरण गर्नुस्, विश्वेश्वरप्रसाद कोइराला ’ विपि’ ले समाजवादको मार्ग देखाएर महामानवको रुपमा जिवन्त रहनु भयो । गणेशमान सिंह ’वीर गणेशमान’ले ४६ को जनआन्दोलन सफल पारी प्रधानमन्त्री बन्ने प्रस्ताव समेत अस्वीकार गरि सर्वोच्च नेताको पगरी गुत्नु भयो ।

४७ सालमा नेपालको संविधान जारी गरि आम चुनाव सम्पन्न गरेका कृष्णप्रसाद भट्टराई ’किशुनजी ’ सादा र सरल जीवनले आम नेपालीको मन मुटुमा बास गर्नु भयो । ढिलै भए पनि गिरिजाप्रसाद कोईराला ’गिरिजाबाबु’ ले दोस्रो जनआन्दोलनबाट राजतन्त्र फाल्दै शान्ति प्रक्रिया पूरा गरि माओबादीलाई मुल धारमा ल्याई अन्तरिम संविधान जारी गरि ऐतिहासिक पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरि जनताको छोरालाई राष्ट्रपति बनाई राजनेता कहलिनु भयो ।

त्यस्तै सादगि सुशील कोईराला ’शुसिल’दा’ पनि नेपालको संविधान जारि गरि संविधानको पिता बन्नु भयो । तपाईंको कुर्सीको चार खुट्टामा पहिलो केही एमाले, दोस्रो माओवादी, तेस्रो मदेशवादि र चौथो जनमोर्चाबाट बने पनि ईतिहास रच्ने सुनौलो अवसर मिलेकोछ ।

तपाईंलाई अन्तिम प्रधानमन्त्री घोषणा गर्ने र तालि ठोक्नेलाई आभार दिनुछ । जनताको बोली स्वतन्त्रताको लागि आफ्नो बोलि गुमाउनु भयो उहाँहरुलाई कामले जवाफ दिनुछ । अनि मात्र अहिले मख्ख परेका ज्योतिषी फेरि तपाईंको आठौं पटक प्रधानमन्त्री बन्ने कि नबन्ने भनेर चिना पल्टाउने दिन आउनेछ । आश गरौं–नेपालीले प्रधानमन्त्री बनेको संख्याले होईन काम गरेको गुणले सम्झनेछन् । बाकी तपाईंको मर्जी ।

तपाईं संग कुनै फोर्स नहोला, न त अरिङ्गाल होलान न त हनुमान नै साथमा होला न तर मुर्छा परेर व्युतिएका लक्ष्मण पनि साथै छन् । वालीको बध गरेर भए पनि सुग्रिप साथमा छन् । रावणको साथ छोडेर आएका विभुषण साथमा छन् । त्यसैले जनादेशबाट होईन परमादेशबाट बनेको, जनातबाट होईन जस्केलाबाट बनेको सरकार जुन आरोप छ त्यसलाई गलत सावित गर्नुछ ।

राजनितीमा आजको भोलि के हुन्छ भन्न सकिन्न । हिजो टुडिखेल सानो भएकालाई भाषण गर्न बाल्कोनी ठुलो भएको छ । हिजो तपाईंले टाउकाको मूल्य तोकेका व्यक्ति आज साथैमा ढाल बनेर उभिएका छन् । जुन प्रजातन्त्र लगेर दरवारमा बुझाएको तपाईलाई आरोप छ, पुनर्स्थापना पछि फेरि फेरि प्रधानमन्त्री बन्ने मौका मिलेको छ । र फेरि चाहेर वा नचाहेर सत्ताको खेलाडी प्रमाणित हुनु भएको छ चाहे सेटिङले होस् वा अन्तिम विकल्पले ।

विगतमा कांग्रेसले उमारिदिएको जुङ्गामा बारम्बार अरुले ताउ मारेका हुन । त्यसैले नाम जस्तै शेर बनेर देशको मुहार फेर्नुस्, परिवर्तनको आभाष दिलाउनुहोस् । कसैको कम्फरटेवल बन्नको लागि कुनै कम्परमाईज नगर्नुस् । बरु विदेशी प्रभुको बधाई नआए नआईरहोस् । अनि मात्र ज्योतिषीको भविष्यवाणी साँचो ठहर्ला नत्र भने अर्को पटक प्रधानमन्त्रीमा तपाईंको नाम चर्चा हुदा सारा नेपाली जनताले भन्नेछन्–
हिहिहि…
त्यो पर्दैन ।
अस्तु ।

Leave a Reply