गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले वर्षात्को समयमा हुने क्षतिबाट घरबारविहिन परिवारलाई त्रिपाल भन्दापनि जस्तापाता सहयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । मङ्गलबार बाढीपहिरोले पु¥याएको क्षतिको अवस्था बुझ्न म्याग्दी आउनुभएकी उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री भएपछि पहिलोपटक म्याग्दी आउनुभएकी मन्त्री अधिकारीले बाढी पहिरोबाट घरबारविहिन बनेका तथा जोखिममा परेकाहरुलाई त्रिपालको सट्टा जस्तापाता उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय प्रशासनले जस्तापाता खरिद गरेर आवश्यकताअनुसार लाभग्राहीलाई उपलब्ध गराउँदा के कस्तो बजेटको अभाव हुन सक्छ त्यसको बारेमा प्रदेश सरकारलाई जानकारी गराएमा थप सहयोग गर्न सकिने भएकाले अब त्रिपालभन्दा जस्ता वितरण गर्नुपर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले प्रदेशले सबै स्थानीय तहमा भएको विपद् व्यवस्थापन समितिलाई जनही पाँचलाख रुपैयाँका दरले यसअघि नै बजेट उपलब्ध गराइएको र आवश्यकताअनुसार थप गर्ने जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा गण्डकी प्रदेश विपद् समायोजन समितिको संयोजक समेत रहनुभएकी मन्त्री अधिकारीले अहिलेको विपद्ले गण्डकी प्रदेशभित्र १३ जनाको ज्यान गैसकेकाले सतर्कता अपनाउनतर्फ सजग गराउनुभएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बेनी अस्पतालको निर्माणाधीन भवनको ढिलासुस्तीतर्फ इङ्गीत गर्दै म्याग्देलीको स्वास्थ्यको मुख्य थलोमा ढिलासुस्ती हुँदा समस्या भएकोमा मन्त्री अधिकारीको ध्यानाकर्षण गराउनुभयो । उहाँले म्याग्दीका नागरिकहरुका लागि कोभिड–१९ विरुद्धको भ्याक्सिन पर्याप्त रुपमा उपलब्ध गराउनका लागि मन्त्रीसमक्ष माग गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मनसुन सुरु भएपछि म्याग्दी जिल्लामा हालसम्म २ जनाको मृत्यु, ६ जना घाइते, ८९ घर पूर्ण क्षति र २० घर उच्च जोखिममा परेको जानकारी दिनुभयो । उहाँले गतवर्ष २ सय ४७ घर बाढी पहिरोबाट क्षति भएकोमा ४० वटा घर मोनामार्फत निर्माणसम्पन्न भई हस्तान्तरण गरिसकिएको अवस्थामां १ सय ८५ घर निर्माणका लागि सम्झौता भएर पहिलो किस्ता रकम लगिसकेको बताउनुभयो ।

कार्यक्रमको अवसरमा गएको असार २३ गते वर्षासँगै आएको बाढीपहिरोले घर भत्काउँदा मृत्यु भएका पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका गजिन रोका र उनकी श्रीमती बिना रोकाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । राज्यको तर्फबाट उपलब्ध गराइने रकममध्ये प्रदेश सरकारमार्फत एकलाख रुपैयाँको चेक मन्त्री अधिकारीले मृतकका पिता खगेन्द्र रोकालाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply