३० वर्षीया प्रविण घर्तीले बिहे गरेको एक वर्ष मात्रै भयो । गत वर्षको बन्दाबन्दीमा कामबाट गाउँ फर्केका बेला बिहे गरेका प्रविणले केही समय घरमै बिताए । बन्दाबन्दी खुकुलो भएपछि कामको खोजीमा रोल्पा बाहिरका जिल्लामा निस्केका प्रविन वैशाखदेखि भएको निषेधाज्ञामा घरमै थिए ।
केही समय घरमा बसेपछि बागलुङको गलकोटमा काम चलेको खबर आयो । गलकोट नगरपालिका ७, मल्ममा ‘एक घर एक धारा’ परियोजनामा काम गर्न निर्माण कम्पनीका मालिकले बोलाएपछि प्रविण गाउँका अरु युवासँगै गलकोट आए । गलकोट आएको एक महिना नबित्तै प्रविण पिएको मदिरा र खाना बिष बनेपछि अब रोल्पा नफर्किने गरी अस्ताएका छन् ।
प्रविणसँगै खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरहरुले विषाक्त मदिराकै कारण मंगलबार बिहान ज्यान गुमाएका छन् । मृत्यु हुने रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुन मगर र ३९ वर्षका दुधबहादुर राना रहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
आयोजनामा १३ जना मजदुर कार्यरत थिए । मदिरा पिएका २ जना गम्भीर बिरामी छन् । उनीहरुलाई धौलागिरी अस्पतालमा सघन उपचारकक्ष खाली नभएकाले गण्डकी अस्पताल पोखरा पठाइएको छ । ‘अस्तिसम्म सबै यहीँ थिए, ठेकेदारले काममा बोलायो भनेर हिँडेका हुन्’, सुनिल स्मृति गाउँपालिका–५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नमराज थापाले भने,‘घरमा दुःख भएकै कारण मजदुरीमा गएका हुन्, पैसा आउने बेला हुँदा मृत्युको खबर आयो ।’
खाना खाएलगत्तै बिरामी परेका उनीहरुको गलकोटमा रहेको इमरजेन्सी पोलिक्लिनिकमा उपचार भएको थियो । सामान्य उपचारपछि उनीहरुलाई राति नै धौलागिरि अस्पतालमा ल्याइएको थियो । अस्पताल आइपुग्दा बिहान साँढे ४ बजे उनीहरुको मृत्यु भैसकेको अस्पतालले जनाएको छ । सँगै मदिरा सेवन गरेका २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती गम्भीर बिरामी छन् ।
मृतक रेखबहादुर राना र दुधबहादुर राना नजिककैका नातेदार हुन् । ‘रेख बहादुर राइँलो बा हो, उसका जेठा दाजुको छोरा दुधबहादुर हो’, वडाध्यक्ष थापाले भने, ‘दुई भाइ छोरा छुट्टिभिन्न भएपछि खर्च चलाउन कठिन भयो भनेर दाइको छोरा लिएर रेखबहादुर मजदुरीमा निस्केका थियो ।’ मृतक देवेन्द्र पुनको १ वर्षको नाबालक छोरा रहेको थापाले बताए ।
अनुसन्धानको लागि ५ सदस्यीय समिति गठन
मदिरा वा मदिरासँगै अन्य खानेकुरामा विषाक्त परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक इकवाल हवारीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । प्रहरीले पसल संचालक भद्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ । ती मजदुरले यसअघि पनि उक्त पसलमा नियमित मदिरा सेवन गर्थे । मृतक र बिरामीको रगतमा विषाक्त पदार्थ भेटिएको धौलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले बताए ।
‘रगतको विषादी सफा गर्न डायलासिस गरियो, आइसीयू नभएकाले पोखरा पठाईएको हो’, डा. पोखरेलले भने । मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै कुन प्रकारको बिषाक्त प्रयोग भएको भन्ने यकिन गर्न सकिने पोखरेलले बताए ।
मृतकको शव धौलागिरि अस्पतालको शव गृहमा राखिएको छ । परिवारका सदस्यहरु गाउँबाट हिँडिसकेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । ‘परिवारका सदस्यसँगै वडा सदस्यहरु पठाएका छौं, घटनाको विषयमा सबै अनुसन्धान भएपछि मात्रै रिपोर्टका आधारमा दाहसंस्कार हुन्छ’, घर्तीले भने । Dhorpatannews.com

Leave a Reply