बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । वर्षामा खोलामा आउने बाढीका कारण दैनिक रूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदलयात्रु अलपत्र पर्ने गरेका छन् ।

२०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुंगे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा कष्टकर बन्दै आएको छ ।

४ वर्ष बितिसक्दा पनि सम्बद्ध निकायसँग बेगखोलामा पुल बनाउने योजना छैन । खोलामा बहाव बढेपछि अलपत्र पैदलयात्रुलाई डोजरमार्फत वारपार गराउनुपर्ने बाध्यता छ । बेगखोलामा पुल बनाउन संघ सरकार र गण्डकी प्रदेश सरकारसँगै म्याग्दी र मुस्ताङका जनप्रतिनिधिले बेवास्ता गर्दा आफूहरूले सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । खोला तर्ने क्रममा अकस्मात् आउने बाढीले विभिन्न हलुका सवारीसाधन बगाउने गरेको छ ।

जिल्लाका राजनीतिक दल एवं नेताहरूले बेखखोलामा पक्की पुल निर्माण गर्न चासो नदिएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा गुनासो पोेख्दै आए पनि यसको सुनुवाइ हुन सकेको छैन । बाढीले पुल बगाएको चार वर्ष बितिसक्दा समेत म्याग्दीबाट निर्वाचित संघीय तथा प्रदेश सांसदले पुल निर्माणमा कुनै चासो नदिएको अन्नपूर्ण गाउँपालिकाका सुरेन
गुरुङले बताए ।

यसैबीच, सडक विभागले बेगखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको बताएको छ । यही आर्थिक वर्षमा निर्माण कम्पनीले काम शुरू गर्ने सडक विभागबाट जानकारी प्राप्त भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।

Leave a Reply