पहिरो खसेर गएको बिहीबारदेखि बन्द भएको बेनी–जोमसोम सडक आज सोमवारदेखि फेरि सञ्चालनमा आएको छ । वर्षाले ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडक चार दिनपछि सञ्चालनमा आएको हो ।

पहिरो खसेर बेनी–जोमसोम सडक खण्ड अन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको ढुङ्गाखानी, रुप्से छहरालगायत ठाउँमा सडक बन्द भएको थियो । सडकमा पहिरो खसेर पु¥याएको अवरोधलाई हटाएपछि बेनी–जोमसोम सडक फेरि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलेसँगै बीच बाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

बन्द सडक खुले पनि पहिरोको जोखिम भने कायमै रहेको छ । वर्षाका कारण ढुङ्गा र माटो खसिरहेकाले ठाउँ–ठाउँमा पहिरो जाने क्रम निरन्तर रहेको हुँदा आवश्यक सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो । उहाँका अनुसार पहिरोले बन्द बेनी–दरबाङ, बेनी–बागलुङलगायत सडक यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

Leave a Reply