खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डे मंगलबारदेखि एक साताका लागि बन्द गरिएको छ ।

कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । जैमिनीका नगर प्रमुख एवं प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा पनि १८ गते सम्मलाई बन्द गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए । नगरपालिकाको केन्द्रमा रहेका बैंक तथा वित्तीय संस्था, पसल, होटल, रेष्टुराँ, विद्यालय, यातायात लगायत सेवा पनि बन्द रहनेछन् । नगरपालिकाले काम नपरी घर बाहिर ननिस्कन र जानै परे मास्क अनिवार्य लगाउन सर्वसाधारणमा सूचित गरेको छ ।

कोरोना सङ्क्रमणका कारण जैमिनीका ५१ वर्षीय पुरुषको सोमबार नै धौलागिरी अस्पतालमा मृत्यु भएको थियो । यसअघि गत शनिबार जैमिनी–१० का ५२ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । सङ्क्रमित बढेसँगै लगातारजसो मृत्युका घटना हुन थालेपछि महामारी रोकथाम र नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिका–१० मा पनि टोलटोलमा सङ्क्रमण फैलिएका कारण बन्द गर्नुपरेको वडा कार्यालयले जनाएको छ । विद्यालय, संघ संस्था, कार्यालय, होटल, रेष्टुराँसहित अत्यावश्यक बाहेकका सबै सेवा यही १८ गतेसम्मलाई बन्द हुने वडाध्यक्ष प्रेमबहादुर थापाले बताए ।

खुकुलो प्रावधानसहित जिल्लाभर निषेधाज्ञा जारी गरिए पनि महामारी थामिएको छैन । बजार, सार्वजनिक सेवा र यातायात खुला छ । मानिसको आउजाउ बढेसँगै कोरोनाको जोखिम पनि बढ्दो छ । बीचमा सङ्क्रमण घटेजस्तो देखिए पनि पुनः बढेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय सङ्क्रमितको संख्या ३२० छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा १७४ र जैमिनीमा ३३ जना सक्रिय सङ्क्रमित छन् । तमानखोला गाउँपालिकामा भने अहिले सङ्क्रमित छैनन् । पहिलो र दोस्रो लहरमा गरी हालसम्म जिल्लामा पाँच हजार ८१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण बागलुङमा हालसम्म ६१ जनाको मृत्यु भएको छ ।

Leave a Reply