धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रवार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका २७ बर्षिय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार, सडकबाट खसेको जिप करिब ४ मिटर तल सल्लाको बोटमा अड्किएको छ । जिपमा चालक सहित ९ जना सवार रहेकोमा सडकबाट जिप पल्टीँदा उछिटिएका सुनारको दुइ सय मिटर तल भिरमा सब फेला परेको प्रहरीले जनाएको छ ।

जिपभित्रै रहेका अन्य सबै घाईते भएको र उनीहरुको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र थप उपचारको लागि बेनीतर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । दुर्घटनामा परेकाहरुको प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए । प्रारम्भीक अनुसंधानका क्रममा ओरालोमा ब्रेकफेल भएर जिप दुर्घटनामा परेको बुझिन आएको र थप अनुसंधान भैरहेको प्रनाउ राईले बताउनुभयो । सडकबाट पल्टीएको जिप सल्लाको बोटमा अड्किएको र भिरमा खस्नबाट गोजिएकाले जिपमा सवार अन्यको ज्यान जोगिएको छ ।

Leave a Reply