खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गह्रामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गह्रामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ ।

धानखेतीका लागि यति महत्व दिएर मरिमेट्ने म्याग्दीका किसानले नजिकको बारीमा भने कोदोखेती गरेका छैनन् । घर अगाडि र वरिपरिकै बारीमा कोदो रोपिएको छैन । कसैकसैले बारीका कान्ला र गह्रामा फलफूलखेती गरेका भए पनि अधिकांशका बारीमा सिरु फुलेको छ । वनमारा र अन्य झारले बारी ढाकेको छ ।

म्याग्दीका ग्रामीण भेगबाट समेत कोदोखेती हराउँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कका लागिसमेत दुर्लभ चीज जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ ज्यामरुककोटका हरि शर्माले बताए । करीब १० वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए । ‘कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?’ ५७ वर्षीय शर्माले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।

काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् । रघुगङ्गा गाउँपालिका–६ पाखापानीका बलबहादुर शेरपुर्जाको घरमा पनि खेती गर्ने मानिस छैनन् । उनको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन् । छोराले बेनी बजारमा व्यापार गर्छन् भने बुहारीले घरमै पसल । वर्षौं पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए ।

‘कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?’ उनले सम्झिए, ‘हामी साना हुँदा कोदोको ढिंडो र तरकारीसँग एक पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।’ अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनले बताए ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भविराज विकले बताए । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिंडो र पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटा बताउँछन् ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेको बेनीको होटल यतीकी सञ्चालिका विमला गौचनले बताइन् । यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास)मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ ।

चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरेले बताए ।

तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ । म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ५०० हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

Leave a Reply