मीन रेश नुन्थला माविमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्देश्यमा साथ दिन तयार भए । विसं २०६८ मा दुई भाइ मिलेर फर्निचर उद्योग सञ्चालन गरे । फर्निचर उद्योग स्थापना गरेको १० वर्ष भइसक्यो । अहिले थापा दाजुभाइकहाँ सामूहिक प्रयासमा बाख्रा, लोकल कुखुरा, बङ्गुर, बँदेलपालन तथा व्यावसायिक तरकारी खेती छ । कुटानी-पिसानी मिलसमेत छ।
अहिले तीनवटा माउ बँदेल र ४० वटा बङ्गुर छन् । अहिले ३० वटा बङ्गुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ । बङ्गुरका पाठापाठी मात्रै बेचेर वार्षिक तीनदेखि चार लाख कमाउने गरेको गिरीले बताए । “फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बङ्गुरको खोर निर्माण गरेका थियौँ तर अहिले बँदेल र बङ्गुर व्यावसायिकरूपमा पालेका छौँ”, उनले भने, “विदेशमा भन्दा स्वदेशमा राम्रो कमाइ हुँदो रहेछ, अहिले थोरै भए पनि वार्षिक १०÷१२ लाखको कारोबार हुँदै आएको छ ।”
दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फार्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन् । अहिले दर्जनभन्दा बढी बाख्रा मासुका लागि बागलुङ बजारमा बिक्री भएको छ । फार्ममा आठ बाख्रा, सय लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा लटरम्म सिमी फलेको छ ।
मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका दाजुभाइले बेमौसमी तरकारी उत्पादनलाई समेत जोड दिने योजना बनाएको थापाद्वय बताउँछन् । उत्पादन गर्न सके खसी, बोका, बँदेल, बङ्गुर, कुखुरा र फर्निचरका सामग्रीको बजारीकरणको कुनै समस्या नभएको उनीहरुको भनाइ छ ।
कुटानी-पिसानी, बाख्रापालन तथा कुखुरापालनमा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गर्दै आएको दाजुभाइको भनाइ छ । त्यसबाहेक फर्निचरमा दुईजना युवाले रोजगारीसमेत पाएका छन् ।
बङ्गुरको मासुका लागि ४०० प्रतिकेजी र पाठापाठीलाई पाँच हजारमा बिक्री गर्दै आएका उनीहरुले २०७२ सालमा पोखराबाट बँदेल प्रजातिको बङ्गुर लिएर पाल्दै आएका छन् । बङ्गुरको भन्दा बँदेलको मासु निकै स्वादिष्ट भएकाले राम्रै मूल्यमा बिक्री गर्ने गरेको गिरीको भनाइ छ । बँदेलको मासु प्रतिकेजी ६०० मा बिक्री गर्दै आएको र पाठापाठीलाई छ हजारमा बिक्री गर्दै आएका छन् ।
दुई भाइ मिलेर गाउँमै जागिर खाँदै व्यावसायिक फर्निचर उद्योग, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु अन्यलाई समेत उदाहरणीय कार्य भएको काठेखोला-७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउँछन् । रासस