म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको मिति सार्वजनिक भएको छ l प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाले आगामी अक्टोबर १९ र २० का दिन म्याग्दीको सदरमुकाम बेनीमा महाधिवेशन गर्ने जनाएको छ l
सङ्घका अध्यक्ष ओम नारायण जुग्जालीका अनुसार महाधिवेशनमा सहभागिता जनाउन हरेक राष्ट्रिय कार्यकारी समितिले १५ सेप्टेम्बरभित्र सचिवालयमा नामावलि पठाउन पर्ने बताउनु भयो l उहाँले लामो समयदेखि अधिवेशन नगरेका राष्ट्रिय कार्यकारी समितिले १५ सेप्टेम्बर भित्र नै अधिवेशन सम्पन्न गर्न समेत आग्रह गर्नु भएको छ l
महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुन् नसक्नेहरूका लागि भर्चुअल मार्फत व्यवस्था गरिने सङ्घका महासचिव विक्रम कार्कीले पोखरा न्यूजलाई जानकारी दिनु भयो l दसैँमा धेरै जना गृह जिल्ला फर्कने हुँदा सहभागिता पनि उच्च हुने अपेक्षा गरिएको छ l यद्यपि कोरोना प्रकोपको अवस्था अनुसार सङ्घले समयानुकूल निर्णय गर्ने कार्कीले बताउनु भयो l
मोनाले जिल्लाका हरेक सुख दुखमा साथ दिँदै आएको छ l गत साल असारको अविरल वर्षाका कारण विभिन्न स्थानका बाढी पहिरोबाट विस्थापित भएका परिवारहरूलाई २ करोड भन्दा बढीको लगानीमा ४० घर निर्माण गरी विभिन्न चरणमा हस्तान्तरण गरी सकेको छ भने कोरोना विरुद्धको लडाइमा समेत अक्सिजन कन्सर्नट्रेटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरी आफ्नो उपस्थितिलाई सधैँ अग्रणी भागमा राखेको छ l