म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा रहेको पुलाचौर स्वास्थ्यचौकीमा बुधबार विपद् कोष व्यवस्थापनको आयव्यय सार्वजनिक भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम गर्न गत आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित नगद तथा जिन्सी सामानहरु सार्वजनिक गरिएको हो ।
पुलाचौर स्वास्थ्यचौकीमा विपद् व्यवस्थापन कोष स्थापनार्थ आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग सङ्कलन अभियानअन्तर्गत गत आव ०७७/७८ को आयव्यय र चालु आव ०७८/७९ को भावी योजना सार्वजनिक गरिएको स्वास्थ्यचौकीले जनाएको छ । विपद् कोष स्थापना गर्न सञ्चालन गरिएको अभियानअन्तर्गत कुल तीनलाख ४४ हजार पाँचसय ५३ रुपैयाँ सङ्कलन गरिएको थियो ।
सो रकममध्ये दुईलाख ४१ हजार दुईसय ८७ रुपैयाँ नगद उठेकोमा एकलाख तीनहजार दुईसय ६६ रुपैयाँ प्रतिबद्धता रकम उठ्न बाँकी रहेको जनाइएको छ । गतवर्ष कोरोना पुष्टि भएका बिरामीलाई घरभेट गरी स्वास्थ्य र पोषण सामग्री सहयोगमा ३५ हजार चारसय ६७ रुपैयाँ खर्च भई बाँकी रकम विपद् व्यवस्थापन कोषमा बचत रहेको आयव्यय विवरण सार्वजनिक गरिएको थियो । आगामी दिनमा पनि विपद् व्यवस्थापन कोष सङ्कलनको कार्यलाई निरन्तरता दिइने भएको छ ।
यसैगरी आयव्यय सार्वजनिक कार्यक्रममा चालु आर्थिक वर्षलाई आर्थिक सङ्कलन अभियानको वर्षका रुपमा मनाउने निणर्य समेत गरिएको पुलाचौर स्वास्थ्यचौकीका सिनियर अनमी अमृता सुनारले बताइन् । उक्त कार्यक्रममा सिनियर अनमी सुनारले गएको जेठ ६ गते विपद् व्यवस्थापन कोष स्थापनादेखि हालसम्म सञ्चालित विभिन्न गतिविधि र सङ्कलित आर्थिक तथा जिन्सी सामानको विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । आउँदा दिनमा विपद् कोषलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पुलाचौरका गजिन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय विपद् व्यवस्थापन कोष कार्यविधि निर्माण समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा रामप्रसाद सुवेदी, विष्णुमाया कुँबर, कृष्ण बानियाँ, कमलप्रसाद पौडेल, प्रकाश सुवेदी, प्रेम भण्डारी, प्रताप बानियाँ र अमृता सुनार रहेका छन् । कार्यक्रमको अवसरमा पुलाचौर घरभई हाल कतारमा रहेका बाबुराम नेपालीले पाँचहजार एकसय ५५ र बरनाथ आधारभूत विद्यालय अवेचौरका प्रधानाध्यापक टिकाराम दर्जीले दुईहजार पाँचसय रुपैयाँ प्रतिबद्धता रकम उपलब्ध गराएका थिए । आयव्यय सार्वजनिक कार्यक्रममा विपद् कोषको विषयमा सहभागीहरुबीच व्यापक रुपमा अन्तत्र्रिmया र छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेनपा ५ पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले कोरोना भाइरस बढ्दै गैरहेको अवस्थामा सबै मिलेर यसको रोकथाम र न्युनीकरणमा जोड दिनुपर्ने बताए । वडा सदस्य रामप्रसाद सुवेदी र जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका प्रअ कमलप्रसाद पौडेलले मन्तव्य राखेको कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख विष्णुमाया कुँबरले स्वागत र आर्थिक सङ्कलन समिति सदस्य गजिन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।
सो कार्यक्रममार्फत डडुवाका युवा अर्जुन भण्डारीले बेनपा ५ पुलाचौरका कोरोना पुष्टि भएका संक्रमितलाई आफ्नो बेनीमा रहेको होटल मेरो नमस्तेमा आईसोलेसनमा राख्ने प्रतिबद्धता जनाएका छन् । पुलाचौर स्वास्थ्यचौकीलाई अस्ट्रेलियामा रहेका पुलाचौरवासी दाजुभाइहरुबाट साढे दुईलाख भन्दा बढीको स्वास्थ्य सामग्रीहरु सहयोग भएको छ । त्यस्तै स्वास्थ्यचौकीलाई स्वदेश तथा विदेशका विभिन्न स्थानबाट समेत आर्थिक र जिन्सी सामान सहयोग आइरहेको छ ।

Leave a Reply