साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो ।

बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने बालबच्चालाई हेरिदिने कोही पनि भएनन् । उपाय केही नभएपछि उनले सङ्क्रमण नभएका छोराछोरीलाई राख्न बाध्य भइन् ।होम आइसोलेशनमा बसेकी ती महिलाले आफै खाना पकाएर छोराछोरीलाई खुवाउँछिन्  । ‘‘पाँच वर्षको छोरो अरूसँग बस्नै मानेन्, आठ वर्षकी छोरी पनि मसँगै छ’’ उनी भन्छिन्  “आफूलाई सङ्क्रमण पुष्टि भएपछि गाउँलेले पनि  सहयोग गरेनन् । घरमा अरु कोही नभएकाले बालबालिकालाई बाध्यतावश आफैँसँग राख्नुपर्यो।” एक साताअघि उनलाई सङ्क्रमण पुष्टि भएपनि त्यसयता सँगै बसेका बालबालिकाको जाँच गराइएको छैन् ।

ती महिलाका छोराछोरीलाई कोरोनाको जाँच गर्न बोलाइए पनि उनीहरू अहिलेसम्म आउन नसकेको अमलाचौर स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद शर्मा बताउँछन् । परिवारका अन्य सदस्यसहित जैमिनी नगरपालिका–१ की अर्की एक महिला पनि कोरोना  सङ्क्रमित छिन् । नगरपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बस्दै आएकी उनी, उनका वृद्ध सासू, चार वर्षकी छोरी र ११ वर्षका छोरा पनि सङ्क्रमित भएका हुन् तर  श्रीमानको  भने कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।

पाँच जनाको परिवारमा चार सङ्क्रमित छन् । ती महिला र उनकी सासुलाई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि छ । आफूहरुको स्वास्थ्यमा समस्या भएका कारण केही होला की भनेर आफूसहित छोराछोरीलाई  पनि आइसोलेशनमा राख्नु परेको उनको भनाइ छ ।

छोराछोरीमा कडा खालको लक्षण त छैन तर घरमा कोही नभएका कारण सबैजना अस्थायी कोभिड अस्पतालमा बसिरहेका छन् । ‘‘आमा वा हजुरआमासँग जस्तो परिवारका अरु सदस्यसँग कहाँ बस्न मान्छन् र छोराछोरी’’ उनले भनिन् ‘‘सँगै बसेका छौं, खाना अस्पतालले दिन्छ, अरु सुसार आफैँले गर्दै आएकी  छु ।’’

कोरोना महामारीको पहिलो लहरभन्दा दोस्रो लहरमा महिला र बालबालिकालाई धेरै असर पारेको छ । आमा सङ्क्रमित हुँदा बालबालिकालाई आइसोलेशनको समय समय कटाउन निकै कठिन हुने गरेको छ । आमा सङ्क्रमित हुँदा बालबालिका पनि सङ्क्रमित हुने खतरा बढिरहेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउँछन् ।

‘‘महामारी कठिन समय हो, यो बेलामा सबैमा मानसिक असर पनि परेको हुन्छ’’ धौलागिरि अस्पतालका मानसिक रोग विषेशज्ञ डा.धीरेन्द्र पौडेल भन्छन्, “बालबालिकाका लागि न अस्पतालका आइसोलेशनमा छुट्टै व्यवस्था गर्न सकिएको छ नत होम आइसोलेशनमा नै । त्यसैले बिरामीमा शारीरिक भन्दा पनि मानसिक समस्या बढी देखिन्छ ।”

Leave a Reply