बागलुङमा साउन २८ गतेदेखि कडा निशेधाज्ञा गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्र बागलुङको बैठकले कोरोना महामारी नियन्त्रणका लागि कडा निशेधाज्ञा गर्ने निर्णय गरेको हो ।
बागलुङ नगर क्षेत्रमा नयाँ नयाँ लक्षण सहित कोरोना संक्रमित तिब्र रुपमा बढेको बन्दै बागलुङ नगरपालिकाले सोमबार निशेधाज्ञा गर्नका लागि कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारीस गरेको थियो ।
त्यही सिफारीसको आधारमा केन्द्रको बैठकले अत्यावश्यक बाहेक सबै सेवा पूर्ण बन्द रहनेगरी निशेधाज्ञामा कडाई गरेको हो ।
साउन २९ गते बिहान ५ बजेबाट भदौ ५ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।
विगतमा निशेधाज्ञाको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालय, बैठक तथा वित्तीय संस्था, शैषिक संस्थाहरु सार्वजनिक तथा निजी यातायात सबै बन्द रहनेछन् ।
अत्यावश्यक सेवामा लागि सवारी साधन सञ्चालन हुनेछन् । कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न पसलहरु पनि आईतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
लोकसेवा तथा त्रिभुवन विश्व विद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने बताईएको छ । निशेधाज्ञा बागलुङ जिल्लाभर कडाई गरिनेछ ।