निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको दुई बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ३० प्रतिशत मात्रै सकिएको छ । अस्पतालको स्तरोन्नती गरि ५० बेड क्षमतामा रुपान्तरण गर्नका लागि २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भएपनि अहिले निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीको कारण अलपत्र बनेको छ ।

कोरोनाको कारण थप गरिएको म्याद समेत गत जेठ २० मै सकिएको भएपनि महिनौँदेखि कार्यक्षेत्रमा निर्माण व्यवसायी नफर्किएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘‘हामीले पटक पटक ताकेता गरेका छाँै, ठेकेदारलाई फर्काउने वातावरण बनेको छैन्, एक बर्षबिचमा योजनामा देखिने कुनै काम भएको छैन, भवन नबन्ने, विरामीलाई स्तरीय सेवा दिन नपाउने बाध्यता आएको छ’’–अध्यक्ष कटुवालले भन्नुभयो ।

यस योजनाको ठेक्का लिएको महादेव खिम्ती गल्वा रफिना जेभीका सञ्चालकहरु हाईप्रोफाइल निर्माण व्यवसायि हुन् । महादेव खिम्तीका रवी सिंह निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष, गल्वाका सञ्चालक नरहरी थपलिया उपमहासचिब र रफिनाका सञ्चालक रविन जोसी समेत पहुँचवाला निर्माण व्यवसायीको रुपमा चिनिन्छन् । केन्द्रिय स्तरमा राजनैतिक पहुँच भएकै कारण अस्पताल भवन अलपत्र बनाउने निर्माण व्यवसायीहरुमाथि कुनै कारबाहि हुन नसकेको गुनासा बढेका छन् ।

जिल्ला प्रशासन कार्यालयले आयोजना कार्यान्वयन गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङलाई अस्पताल भवन निर्माणमा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गराउन लिखित पत्राचार नै गरिसकेको छ । कार्यालयले समेत विभिन्न समयमा गरि ७ पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई पत्र नै काटेर ताकेता गरिसकेको छ । तर निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किने अत्तोपत्तो देखिएको छैन् ।

तत्कालिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसंग २०७३ पुस २१ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले रु १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि योजना अलपत्र परेपछि अहिले चौतर्फि आलोचना र गुनासो बढेको छ ।

बेनी अस्पतालको भवन निर्माण योजना संगै म्याग्दीमा सञ्चालन भएका ठुला विकास निर्माण योजनाहरु यतिबेला चरम ढिलासुस्ती र लापरबाहीको नमुना बनेका छन् । त्यसमध्येमा बेनी–दरबाङ कालोपत्रे सडक पनि एक हो । बेनीदेखि सिमचोकसम्मको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको लागि २०७६ माघभित्र सम्पन्न गर्ने गरि लामा समानान्तर जेभीले २०७४ साउनमा रु ४७ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो । योजना सम्पन्न गर्न पटक पटक गरि थप भएको म्याद समेत गत चैत २३ गते सकिएको छ ।

चार बर्षदेखि कार्यक्षेत्रमा परिचालन भएको यस योजनामा निर्माण कम्पनीले अहिलेसम्म ४५ प्रतिशत मात्रै भौतिक प्रगती गरेको छ भने २३ करोड २९ लाख रकम भुक्तानी लगीसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सन्तोष अर्यालले जानकारी दिनुभयो । यस योजनाको ठेक्का लिएको लामा कन्ट्रक्सनका सञ्चालक जिपछिरिङ लामा दोलखाबाट विर्नाचित प्रतिनिधि सभा सदस्य समेत भएकाले ढिलासुस्ती गर्दा समेत दबाब पुग्न नसकेको स्थानीयबासीको गुनासो छ । केहि समय अघि सडकखण्डको ठाउँ ठाउँमा स्थानीय स्तरबाट सडक अलपत्र बनाउने कम्पनीका सञ्चालक लामाको तस्बिर सहितको बोर्ड टाँस गरेर विरोध समेत जनाइएको थियो ।

त्यसैगरि गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनको सिफासिरमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत बेनी –दरबाङ सडकखण्डको रणबाङदेखि दरबाङसम्मको ६ किलोमिटर ८ सय मिटर सडक कालोपत्रे योजना समेत अलपत्र बनेको छ । २०७६ जेठमा विरुवा क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्ने गरि रु २२ करोड ४७ लाखमा ठेक्का लिएको यस योजनामा अहिलेसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । बेनी–दरबाङ सडकखण्डमा परिचालित दुबै कम्पनीको काम सन्तोषजनक छैन् । पहिलो खण्डमा भौतिक प्रगति ४५ र वित्तिय प्रगति ४८ प्रतिशत र दोस्रो खण्डको भौतिक प्रगति ५० र वित्तिय प्रगति करिब ५९ प्रतिशत भएको छ । दुबै खण्डमा काम भन्दा बढी भुक्तानी भएको देखिएको छ ।

त्यसैगरि बेनी–बागलुङ सडकखण्ड अन्तर्गत खवरादेखि रत्नेचौर खण्डको योजना समेत अलपत्र परेको छ । निर्माण सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जिर्ण बन्दै गएको छ । यस खण्डको सडक कालोपत्रे गर्न नागार्जुन–देभ एण्ड सायर– विएन जेभीले २०७७ असोजभित्रै सक्ने गरि ठेक्का लिएको भएपनि अहिलेसम्म ९० प्रतिशत भौतिक प्रगति भएको छ भने काम अलपत्र बनेको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्रे सडक योजना अधुरो र अलपत्र अवस्थामा छ । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत सञ्चालन भएको यो योजनामा अहिलेसम्म जम्मा ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रे सहित स्तरोन्नतिका लागि २०७६ जेठ २७ गते दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौले भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १० करोड ४८ लाख रकम भुक्तानी लगीसकेको यस कम्पनीले सडक कालोपत्रे गर्ने सुरसार समेत गरेको छैन् । ‘‘ सडक आयोजना अलपत्र बनाउने निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेका छौँ, कोरोना लगायतका कारण उनीहरुलाई म्याद थपमा कार्यालयले सहजीकरण पनि गरेको छ, थप भएको समयमा समेत निर्माण कार्य सम्पन्न नगरेमा उनीहरुलाई आबश्यक कानुनी कारबाहीको लागि प्रकृया अगाडी बढाउनुपर्छ’’–पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले भन्नुभयो ।

भूकम्प प्रभावित सडक अन्तर्गत राष्ट्रिय पुननिर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरेबगरदेखि चित्रे सम्मको साढे १८ किलोमिटर सडक कालोपत्रे गर्ने योजना समेत ढिलासुस्तीले थलिएको छ । २०७५ मंसिरदेखि निर्माण सुरु भएको यस आयोजनाको म्याद गत जेठ मा सकिएको भएपनि भदौ १७ सम्मका लागि पुनः थप भएको छ । तर अहिलेसम्म करिब ५५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हाँसिल गरेको कारण थप भएको समयमा समेत काम सम्पन्न हुने नदेखिएको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काम समेत सुस्त बनेको छ । कालोपत्रे सहित स्तरोन्नतीको लागि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम खण्डको काम अन्यत्तै सुस्त छ । त्यसमा पनि म्याग्दीखण्डमा सडक फराकिलो बनाउने काम भएपनि सडक कालोपत्रेको काम हुन सकेको छैन् । जिल्लामा सञ्चालित सडक, अस्पताल भवन लगायतका पूर्वाधार योजनाहरुमा भएको चरम ढिलासुस्तीप्रति राजनैतिक दल, जनप्रतिनिधि, सम्बन्धित कार्यालय र प्रशासकहरुलाई समेत आलोचित बनाएको छ ।

 

 

 

Leave a Reply