आपतकालिन सहयोग सञ्जाल बेनपा-६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पीडित ब्यबसायी प्रमोद शर्मालाई आर्थिक सहयोग गरेको छ ।

शुक्रबार बेनपा ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडा अध्यक्ष कृष्णसिंह बानियाँ मार्फत रु ७५ हजार ४३ रुपैयाँ शर्मालाई प्रदान गरिएको हो । बेनपा ६ अथुङ्गे निवासी शर्माले बेनीको न्युरोडमा संचालन गर्नुभएको रघुगंगा जुस कर्नर एण्ड डेरीमा गत मंगलबार बिहान अकस्मात् आगलागी हुँदा पसल जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

आफ्नै गाउँबासीलाई परेको बिपतमा थोरै भएपनि राहत पुगोस् भनेर फेसबुकको म्यासेन्जरमा ग्रुप संचालन गरि गाउँ, तथा देश बिदेशमा रहेका बेनपा-६ बासीहरुबाट उक्त सहयोग रकम संकलन गरिएको आपतकालिन सहयोग सञ्जालका संयोजक वसन्त बानियाँले बताउनुभयो । वसन्त बानियाँ, सुन्दर बानियाँ लगाएतका युवाहरुको पहलमा दुई दिनमा सो रकम संकलन गरिएको थियो । म्यासेन्जर ग्रुपमा आब्हान गरे पश्चात् सबै सहयोगीहरुले स्वतस्फुर्त रुपमा सहयोग गरेको संयोजक बानियाँले बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बानियाँले यो संजाललाई बैद्यानिक रुपमै समिति बनाएर आपतकालिन् कोष स्थापना गर्न सकिने बताउनुभयो । स्थानीय युवाहरुले गरेको यस कार्यको प्रशंसा गर्दै अध्यक्ष बानियाँले हरेक महिना कोषमा रकम जम्मा गर्ने र वडाभित्रका जो कसैलाई बिपत परेको बेला क्षति अनुसारको रकम सहयोग गर्ने कार्यबिधि बनाउन आपतकालिन सहयोग सञ्जाललाई अनुरोध गर्नुभयो ।

सहयोग रकम ग्रहण गर्दै ब्यबसायी शर्माले अकस्मात परेको पीडामा गाउँले दाजुभाइको यो सहयोगले राहत मिलेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

Leave a Reply