युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा कृषिसम्बन्धी तालिम सुरु भएको छ । सुआहारा दोस्रो कार्यक्रमद्वारा पोषण संवेदनशील विषयमा कृषिसम्बन्धी तालिमको सञ्चालन गरिएको हो ।

नेपाल सरकारले अबलम्बन गरेका बहुक्षेत्रीय पोषण योजना दोस्रो तथा अन्य कृषि नीति मूलतः कृषि विकास रणनीति (२० वर्षे), खाद्यसुरक्षा र पोषण योजना (१० वर्षे) अन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रको भूमिका र दायित्व लगायतका बारेमा छलफल तथा समीक्षा गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिमको सहजीकरण गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख डाक्टर ईन्द्रबहादुर भट्टले पोषण सुधारको क्षेत्रमा सुआहारा कार्यक्रमले धेरै राम्रो काम गरेकाले अहिले पालिकाले त्यसको अपनत्व लिएर पोषणसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए । दुई दिनसम्म चल्ने तालिममा म्याग्दी जिल्लाको ६ वटा स्थानीय तहका पशु र कृषि शाखामा कार्यरत एकएक जना कर्मचारीसहित १२ जनाको सहभागिता रहेको छ ।

तालिममा सुआहारा दोस्रो कार्यक्रम र बहुक्षेत्रीय पोषण योजना दोस्रो, प्रदेश सरकारले अबलम्बन गरेका कृषि नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजना, नेपाल सरकारले अबलम्बन गरेका पशुपंक्षी नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजनाअन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा प्राथमिकता साथै पोषण संवेदनशील पशुपंक्षीसम्बन्धी कार्यक्रम तथा प्रणाली विकासको विषयमा सहजीकरण भैरहेको छ ।

यसैगरी स्वास्थ्य कार्यालयद्वारा सञ्चालित पोषण संवेदनशील स्वास्थ्य कार्यक्रमसम्बन्धी प्रस्तुती, नेपालको कुपोषणको वर्तमान अवस्था र त्यसले पारेको नकारात्मक प्रभाव, कुपोषणको चक्र, सुनौलो हजार दिनका विषयमा पनि सहजीकरण गरिएको छ ।
त्यस्तै पोषणयुक्त खाद्यान्नमा पहुँच, घरायसी खाद्यान्न उत्पादन, ग्रामीण नमुना कृषक, पोषण अवस्था सुधार्न कृषि क्षेत्रको भूमिका, कुपोषण न्युनीकरण गर्न समूह परिचालन तथा पालिकास्तरीय समन्वयात्मक अवस्था, स्थानीय पालिका, सुआहारा परियोजनाबीच पोषण संवेदनशील कार्यक्रम तर्जुमा र कृषि क्षेत्रमा गर्न सकिने पोषणका असल अभ्यासका विषयमा पनि सहजीकरण गरिने सुआहारा कार्यक्रमले जनाएको छ ।

तालिमको सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दी संयोजक राजेन्द्र अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भट्ट, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डे, सुआहारा कार्यक्रमका घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत केशव भूषाल, किरण मास्के, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी र फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहेका छन् ।

तालिमको उद्घाटनसत्र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनको अध्यक्षता, पोषण तथा स्वास्थ्य अधिकृत पन्थी र फिल्ड संयोजक पुनले सञ्चालन गरेको कार्यक्रममा सुआहारा कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । यसअघि सुआहारा कार्यक्रमको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा ग्रामीण नमुना कृषक सञ्जालको वैठक बसी विभिन्न विषयहरुमा अन्तत्र्रिmया र छलफल समेत गरिएको थियो ।

Leave a Reply