म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणलेयुक्त कन्दमुलको अचार प्रवद्र्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको आकर्षक स्थल मानिने नाच्र्याङ र नाच्र्याङको शिरानमा रहेको लेकगाउँलाई पूर्व र उत्तरबाट घेरेको जंगल हिमालसम्मै फैलिएको छ । यो गाउँमा पाइने वनस्पति र कन्दमूलको तरकारी र अचारले अन्तराष्ट्रिय बजार पाउन सक्ने भए पनि प्रवद्र्धन हुन नसक्दा गाउँमा नै खुम्चिएर रहन वाध्य भएको स्थानीयले बताएका छन् ।
अचारका सौखिनहरूका लागि नाच्र्याङका प्रत्येक घरमा वनस्पति र कन्दमुलका थरीथरी अचार पाइन्छन् । ती अनेकौं अचारहरुमध्ये फापर परिवार अन्तर्गत पर्ने ‘रियम’ प्रजातिको कन्दमूलको अचार यहाँ रुचाइने अचारमध्येको प्रमुख हो । यो अचार स्वादिष्ट हुनुका साथै औषधीय गुणले समेत युक्त हुने भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले असाध्यै रुचाउने गरेका स्थानीय जीतबहादुर पुनले बताउनुभयो ।
पुनका अनुसार यो अचार प्राकृतिकरुपमा नै अमिलो हुन्छ । यो अचार बनाउने विधि पनि अनौठो रहेको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वनस्पतिको बोक्रालाई त्यसैको पातमा पोको पारेर तोरीको तेलमा केही महीना डुबाएर राखेपछि अचार तयार हुन्छ । गाउँलेले जेठ–असारमा त्यसका पात र बोक्रा संकलन गरेर अचार बनाउने गर्दछन् ।
उहाँका अनुसार यो वनस्पतिको पात एक–डेढ मिटरसम्म अग्लो हुन्छ । यसको फूल सानो र गुलाब जस्तो रातो हुन्छ ।
यसलाई विशेष प्रकारको अग्र्यानिक अचार भनेर प्रचार–प्रसार गर्न सक्ने हो भने मानिसको स्वास्थ्यसँगै पर्यटन प्रवद्र्धनको पनि प्रशस्तै संभावना रहेको स्थानीयको भनाइ छ ।

स्थानीय बूढापाकाहरुका अनुसार यहाँ बनाइने अचार आयुर्वेदिक महत्वको पाखनभेद नामक वनस्पतिको आनुवांशिक प्रजाति हो । यो अचार औषधीय गुणले समेत युक्त हुने भएकाले ग्याष्टिक,गोला,गानो, छाती दुख्ने लगाएतका विरामीहरुका लागि पनि अत्यन्तै उपयोगी हुने बताइएको छ ।
यसको स्वाद गोलभेडाको भन्दा तिख्खर अमिलो हुने भएकाले स्थानीयले यसलाई जंगली गोलभेडा पनि भन्ने गरेका स्थानीय तिलबहादुर पुनले बताउनुभयो । परम्परागत रुपमा बनाइँदै आएको यहाँको वनस्पतिय अचारलाई प्रवद्र्धन गरी बजारीकरण गर्न स्थानीय तहले पहल थाल्नु पर्ने उहाँको भनाइ छ ।
त्यसैगरी यहाँ जंगली वनस्पति चुत्रोबाट मदिरा (घरेलु रक्सी) उत्पादन गर्ने गरिन्छ । जंगली फलबाट बनाइने यो मदिरा विशुद्ध प्राकृतिक हुने भएकाले यसले स्वास्थ्यलाई नकारात्मक असर नगर्ने यहाँका वासिन्दाहरुको भनाइरहेको छ । सिस्नोको परिकारका लागि पनि यो गाउँ प्रशिद्ध छ । जंगल र भीर पाखामा पाइने सिस्नोलाई टिपेर यहाँका वासिन्दाहरुले स्वादिष्ट परिकार बनाउने गरेका छन् ।
कसरी पुग्ने नारच्र्याङ ?
काठामाण्डौं,पोखरा लगाएत देशका विभिन्न शहरहरुबाट यातायातका साधनहरुमार्फत उत्तरी म्याग्दीको भूरुङ तातोपानीसम्म आउने सुविधा छ । त्यसपछि बेनी–जोमसोम सडकखण्डको तातोपानीबाट उत्तरपूर्व डेढ–दुई घन्टा हिंडेपछि नाच्र्याङ लेक गाउँ पुगिन्छ ।
लेक गाउँको सामाजिक बनावट पनि गजबको छ । गाउँमा एक–दुई घर विश्वकर्मा र दर्जीबाहेक सबै पुन मगरको बसोबास छ । यहाँ विशुद्ध मगर भाषा बोलिन्छ । अतिथी सत्कारका लागि यो गाउँ अग्रपंक्तिमा आउँछ ।
त्यसका साथै हिमाली दृश्यावलोकनका निम्ति पनि नाच्र्याङ लेक गाउँ अत्यन्तै उपयुक्त स्थल हो । यसको माथिल्लो कुइनेटोबाट उत्तर पश्चिममा धौलागिरि, उत्तरमा नीलगिरि र उत्तरपूर्वमा अन्नपूर्ण प्रथम नजिकै उभिएको देखिन्छ । तर विगत दुई वर्षदेखि विश्व व्यापि महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउन नसकेका स्थनीयले बताएका छन् ।

Leave a Reply