दृश्यावलोकनका लागि उपयुक्तस्थल मानिने म्याग्दीको बेनी नगरपालिका-५ गाजनेमा निर्माणाधीन जगन्नाथ भ्यू–टावर अलपत्र बनेको छ । पुलाचौरको गाजनेमा रहेकाे केभहिलमा निर्माणाधीन अवस्थामा रहेको जगन्नाथ भ्यू–टावर अलपत्र भएको हो ।

निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्ती, स्थानीय बासिन्दाको बेवास्ता, सरोकारवाला निकायको ताकेता र अनुगमन नहुनु, कोरोना भाइरसको जोखिम तथा लामो समयको लकडाउनका कारणले भ्यू–टावर निर्माणमा ढिलाइ भएकाे हाे ।  आर्थिक वर्ष २०७४/७५ देखि भ्यू–टावर निर्माण थालिए पनि अहिलेसम्म टावरले पूर्णता पाएको छैन ।

गएकाे आवसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको भ्यू–टावर निर्माणको झण्डै ८ प्रतिशत मात्रै काम बाँकी रहेको बेनी नगरपालिकाले जनाएको छ । निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीबाट समयमा नै भ्यू–टावर निर्माणको काम हुन नसकेको नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर अर्जुन थापाले बताउनुभयो ।

उहाँले निर्माण व्यवसायीको ढिलासुस्तीका कारणले गर्दा भ्यू–टावर निर्माणमा ढिलाइ भएको र अहिलेसम्म पनि निर्माणकार्यले पूर्णता पाउन नसकेको आरोप लगाउनुभयो।

अहिलेसम्म भएको कामको आधारमा नगरपालिकाबाट निर्माण व्यवसायीलाई भुक्तानी दिइएको भन्दै असिस्टेन्ट सब–इन्जिनियर थापाले भ्यू–टावरको रङ रोगन, प्रतीक्षालयको छाना छाउने र बस्ने बेन्च फिट गर्नेलगायत काम मात्रै बाँकी रहेको जानकारी दिनुभयो ।

निर्माण व्यवसायी रवि बानियाँले भने आफूले बेनी नगरपालिकाबाट भ्यू–टावर निर्माणको डिटेल स्टिमेट नपाएको, विनियोजित बजेट काटिदिएको र कोरोना भाइरस तथा लकडाउन जस्ता कारणले समयमै भ्यू–टावर निर्माणमा समस्या भएको बताउनुभयो । उहाँले टाढाबाट कामदारहरु ल्याएर भ्यू–टावर निर्माण गरे पनि नगरपालिकाबाट काम भइरहेको अवस्थामा बजेट काटिदिएपछि टावर निर्माणकार्य अवरुद्ध बनेको गुनासो गर्नुभयो ।

निर्माण सुरु गरेको झण्डै ५ वर्ष बितिसक्दा पनि भ्यू–टावर निर्माणको काम नसकिँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या हुने गरेको छ । भ्यू–टावरको माथिल्लो भागसम्मै चढेर हेर्दा हल्लिने हुँदा भ्यू–टावरमा दुर्घटनाको जोखिम समेत बढेको पर्यटकहरु बताउँछन् ।

जिल्लाको मङ्गला र रघुगङ्गा गाउँपालिकाले यसअघि नै भ्यू–टावर निर्माण गरि सञ्चालनमा ल्याएको भए पनि बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिलमा निर्माणाधीन भ्यू–टावरले लामो समयसम्म पूर्णता नपाउँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।

गाजनेका स्थानीय अगुवा निलकण्ठ शर्माले सम्बन्धित निर्माण पक्ष र निकाय तथा उपभोक्ता समितिको बेवेवास्ताले भ्यू–टावर निर्माणमा ढिलाइ भएकाले अब तुरुन्तै निर्माण गरि सञ्चालनमा ल्याउनुपर्ने माग गर्नुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चालु वर्षमा केभहिलमा निर्माणाधीन जगन्नाथ भ्यू–टावरको निर्माणकार्यले पूर्णता पाउने बताउनुभयो ।

उहाँले नगरपालिकाबाट यसवर्ष आठलाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउँदै भ्यू–टावरको वरिपरि  बगैँचा निर्माण, घेराबार तथा बस्ने ठाउँ बनाउन डीपीआरको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा अगाडि बढाएर विकास गर्ने बेनी नगरपालिकाको योजना रहेको बताउनुभयो ।

धार्मिक एवं पर्यटकीय क्षेत्र जगन्नाथ मन्दिर, ऐतिहासिक डढेकोत राजदरबार तथा पर्यटकीयस्थल केभहिल अर्थात् गुफाको डाँडो र गाजने गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्यू–टावर निर्माणको कार्य अघि बढाइएको हो । स्थानीय बासिन्दाको पहल एवं वडा कार्यालय र बेनी नगरपालिकाको आर्थिक सहयोगमा गाजनेको केभहिलमा भ्यू–टावर निर्माण थालिएको छ । भ्यू–टावर निर्माणमा बेनी नगरपालिकाले १५ लाख र स्थानीय श्रमदान दुई लाख रुपैयाँसहित कुल १७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

गएकाे आर्थिक वर्षभित्रै निर्माणसम्पन्न गरिसक्नुपर्ने भ्यू–टावरको कुल ३६ फिट उचाइ, १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र भ्यू–टावरमा ६ ओटा ल्यान्डिङ (उक्लने र ओर्लने) भागहरु बनाइएको छ । माथिल्लो भागमा एकपटकमा करिब १५ जना चढेर दृश्य अवलोकन गर्न सक्ने क्षमता रहेको भ्यू–टावरको सबै संरचनाहरु स्टिल स्ट्रक्चर अर्थात् (फलाम)को प्रयोग गरिएको सब–इन्जिनियर थापाले बताउनुभयो ।

भ्यू–टावर निर्माण गर्न बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा एक लाख, ०७५/७६ मा पाँच लाख, ०७६/७७ मा १० लाख र गएकाे आव ०७७/७८ मा थप पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गएको दुई वर्ष कोरोना भाइरसका कारण लामो समय निषेधाज्ञा रहेकाले पनि समयमै काम हुन नसक्दा भ्यू–टावर निर्माणका लागि विनियोजित रकमको छ लाख रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।

केभहिलमा निर्माणाधीन अवस्थामा रहेको भ्यू–टावर निर्माणसम्पन्न भइ सञ्चालनमा आएपछि जगन्नाथ क्षेत्रमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीको शिरमा रहेको पर्यटकीयस्थल केभहिलमा स्थानीयले हेलिप्याड समेत बनाएका छन् ।

प्रसिद्ध जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा केभहिल पर्दछ भने ३० मिनेटमा ऐतिहासिक डढेकोट राजदरबार रहेको छ । बेनीबाट अर्थुङ्गे–पुलहाश्रम–ढोलठान–जगन्नाथ–केभहिल–डढेकोत हुँदै पर्यटकीय क्षेत्र टोड्के भएर धौलागिरी बेसक्याम्प पुग्ने पदमार्ग पनि निर्माण सुरु भएको छ ।

समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेकाे केभहिलबाट विश्वको सातौँ अग्लो चुचुरो धौलागिरी हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, मानापाथी, गुर्जा, चुरेनलगायत करिब डेढ दर्जन हिमश्रृङ्खलाकाे मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

गुफाको डाँडाबाट म्याग्दीको साविकका ४१ मध्ये ३६ ओटा गाविस र पर्वत, बागलुङसहित अन्य जिल्लाका डाँडाकाँडाहरु समेत देखिन्छन् ।

Leave a Reply