स्थानीय जनप्रतिनिधि र विकास निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनिहरुको लापरवाहीका कारण म्याग्दीमा बेरुजुको चाङ देखिएको छ ।

एक नगरपालिका सहित ६ वटा स्थानीय तह रहेको हिमाली जिल्ला म्याग्दीमा बर्सेनि बेरुजु रकम बढ्दै गएकोप्रति यहाँका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । वर्षान्तको समयमा कानुन विपरित काम हुनु, विकास निर्माणको काम समयमै सम्पन्न नगरिनु, कागजपत्रहरु चुस्त दुरुस्तरुपमा नबुझाइनु जस्ता कारणले स्थानीय तहमा बेरुजु बढ्दै गएको पाइएको छ । स्थानीय तहमा नीतिगत र आर्थिक अनियमितताले विकास योजनामा बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा जिल्लाका ६ वटै स्थानीय तहहरुमा गरी रु. आठ करोड ५५ लाख २७ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा रु. दुई करोड आठ लाख, धवलागिरीमा रु. एक करोड ५७ लाख आठ हजार, मालिकामा रु. एक करोड ३० लाख ५७ हजार, मङ्गलामा रु. एक करोड २५ लाख ९३ हजार र अन्नपूर्ण गाउँपालिकामा रु. ६२ लाख ८७ हजार र रघुगङ्गा गाउँपालिकामा रु. एक करोड ७० करोड ८२ हजार, बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी बिना प्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गरेको, नदीजन्य बस्तु कम दररेट राखेर बेचेको, उपभोक्ता समितिहरुले लगेको पेस्की फस्र्याैटमा बेवास्ता गरेको र विद्यालयमा हाजिर नगरेका शिक्षकलाई तलब दिएको जस्ता कारणले गर्दा बेरुजु रकम बढेको जनाइएको छ ।
गण्डकी प्रदेश आर्थिक ऐन, २०७६ अनुसार रोडा, ढुङ्गा, गिट्टी, वालुवाको प्रति क्युबिक फिट रु. चारका दरले कर सङ्कलन गर्ने उल्लेख भएको तर मालिका गाउँपालिकाको त्योभन्दा कम दरमा कर सङ्कलन गरेको पाइएको छ ।
प्रति क्युबिक रु. दुई को दरले कर सङ्कलन गरेको र मूल्य अभिवृद्धि कर बाहेक रु. १३ लाख १८ हजार कम आय प्राप्त हुनु उचित नभएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको एउटा माध्यमिक विद्यालयमा २०७५ साउन ६ गतेदेखि २०७६ पुष ४ गतेसम्म कार्यरत नरहेका शिक्षकको नाममा माग भएको रु. ११ लाख ९९ हजार निकासा दिएको छ ।
उक्त रकममध्ये रु. तीन लाख १३ हजार असुल भएको र नपुग रु. आठ लाख ८६ हजार असुल गर्न निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारअन्र्तगतको पूर्बाधार विकास कार्यालयमार्फत सञ्चालित बागलुङ–बेनी सडक र बेनी–दरबाङ सडक आयोजनाका ठेकेदारलाई निर्माण कार्यको मूल्य समायोजन गर्दा फरक सूचकाङ्क राखेर भुक्तानी गरेको रु. २१ लाख ३८ हजार असुल उपर गर्न पनि प्रतिवेदनले सम्बन्धीत पक्षलाई निर्देशन दिएको छ ।
प्रतिवेदनले सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले प्रवेश शुल्क वापत उठाएको रु.३७ लाख ५८ हजार असुल गर्न बेनी नगरपालिकालाई निर्देशन दिएको छ। प्रवेश शुल्क र सहयोग रसिदको कूल रकमको २५ प्रतिशत कुण्ड समितिले नगरपालिकालाई उपलब्ध गराउने भनेर भएको सम्झौता अनुसारको रकम असुल्न निर्देशन दिएको हो । आर्थिक वर्ष २०७५–७६ को लेखा परीक्षण प्रतिवेदन अनुसार कुण्डले उल्लेखित शीर्षकबाट रु.८४ लाख ३५ हजार र २०७६–७७ को प्रमाणित आर्थिक विवरणअनुसार रु. ६५ लाख ९६ हजार आम्दानी गरेको थियो ।
यसैगरी, बेनी–दरबाङ र बेनी–गलेश्वर सडक निर्माण कार्यको सम्झौतामा मोविलाइजेशन पेस्की कट्टा गरिसकेपछि बील रकममा मूल्य समायोजन गर्ने उल्लेख भएकोमा पेस्की कट्टा नगरी मूल्य समायोजनमा रु. ३७ लाख ८९ हजार बढी भुक्तानी गरेको देखिएकाले असुल गर्न भनेको छ। यसैगरी बेनी अस्पतालको रु २४ करोड २२ लाख ७२ हजारको लेखा परीक्षण गर्दा रु ३७ लाख ३४ हजार बेरुजु देखिएको छ । म्याग्दीका कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले जिल्लामा कागजात र प्रक्रिया नपुगेको बेरुजुको अवस्था धेरै तथा अनियमित र असुल गर्नुपर्ने बेरुजु कम रहेको बताए । नपुगेका कागजात पूरा गरेमा र असुल उपर गरेमा बेरुजु रकम घट्ने उनको भनाइ छ । समयमै काम हुन नसक्दा पनि बेरुजु रकम बढी देखिएको उनले बताए ।

Leave a Reply