म्याग्दीको रघुगंगा गाउँपालिका-६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेको छैन । पानी ओभरफलो भएर बग्न थालेपनि करिब एक किलोमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले रघुगंगा नदी थुनिएर करिब एक किलोमिटर लामो क्षेत्रमा बनेको तलाउको सतह थोरै बढेको स्थानीय युवा प्रदिप पाईजाले जानकारी दिनुभयो ।

चटनले थुनिएको ठाउँबाट पानी ओभरफलो भएर बग्न थालेपनि थुनिएर बनेको तलाउको सतह नघटेकाले सम्भावित जोखिम कायमै रहेको छ। एकैपटक थुनिएको ठाउँबाट तलाउ फुटेमा तटिय क्षेत्रमा रहेका बस्तीमा जोखिम हुने खतरा छ । भिरालो खोलामा तलाउ बनेकाले जुनसुकै समयमा पनि फुट्नसक्ने खतरा रहेको छ । शुक्रवार भएको अविरल बर्षाको कारण खोलामा पानीको सतह बढेसंगै थुनिएर बनेको तलाउको सतह समेत केहि बढेको छ ।

धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगंगा कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन अवस्थामा छ भने नदीको तटिय क्षेत्रमा गलेश्वर बजार पर्छ ।
तस्बिर सौजन्य प्रदिप पाईजा

Leave a Reply