प्रीय मित्र! चालक

गन्तव्यका साधक
हामी उस्तै हौँ
हाम्रो पेशा मिल्छ
हाम्रो भेषभुषा मिल्छ
गालीको भाषा मिल्छ
हाम्रो विशेषता मिल्छ ।

हामी दुबैलाई हतारो छ
हामी दुबैलाई चटारो छ
तर
हाम्रा यात्री निश्चिन्त छन्

हामी दुबै
मुसादेखि मन्त्रीसम्म बोक्छौँ ।

तिम्रा यात्रीले तिमीलाई चिन्दैनन्
मेरा विद्यार्थीले मलाई गन्दैनन्
तिमी तिम्रा यात्रीलाई सिट दिन्छौ
म मेरा विद्यार्थीलाई सिप दिन्छु ।

तिमिले दिनदिनै क्यूमा बस्छौ
म प्रत्येक ४५ मिनेटमा क्युमा बस्छु ।
हामी दुबै धुलो खान्छौ
तिमी सडकको
म चकको
हामी दुबै गन्ध लिन्छौ
तिमी डिजेल र पेट्रोलका
म मार्करका मसिका

म ट्युसनका कोर्स नमेट्दै
फि थाप्छु
तिमी गन्तव्यमा नपुर्‍याउँदै
फि माग्छौ ।
त्यसैले तिम्रा यात्री
चढेका फि दिन कचकचाउँछन्
मेरा विद्यार्थी
ट्युसनका फि दिन हिचकिचाउँछन् ।

हामी दुबै
फुर्सद पाउना साथ सुर्ती खान्छौँ
अनि पिचिक्क थुक्छौँ
तिमी बसका झ्यालबाट
म कक्षाका झ्यालबाट
तर हामी दुबै हाम्रा यात्रीलाई खान दिन्नौँ ।

तिमीलाई आयोग पास गरेका
ट्राफिकले हप्काउछँन्
तर मलाई पढेका र नपढेका दुबै
ट्राफिकले हप्काउँछन
दुबैलाई बिना कारण !

दुबैका यात्री गन्तव्य पुरा गर्छन्
अनि कुद्छन
तर हामी
मेसिनका इन्जिन थोत्रा भए पनि
दुबै कुदेका कुदै छौँ
तिमी १६ वर्षदेखि एउटै मेसिन कुदाउछौ
तर म ६० वर्षसम्म एउटै मेसिन दौडाउँछु ।
हामी दुबैका मेसिन थोत्रा छन्
हामी दुबैका मेसिन झुत्रा छन् ।
तर
हामीलाई कुदाउनकै हतारो छ
हामीलाई दौडाउनकै चटारो छ ।
धन्यवाद!
मनकुमार जुग्जाली मगर
मंगला-१, भर्जुला, म्याग्दी
शिक्षक
श्री थाइबाङ्ग आधारभूत विद्यालय

Leave a Reply