म्याग्दीको बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानमा सोह्रौँ शताब्दीका ऐतिहासिक सामग्री भेटिएका छन् ।

ढोलठानामा पार्क (उद्यान) निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा जमिनभित्र मल्लकालिन सामग्रीहरु भेटिएका हुन् । ढोलठाना समेटिएको निलबराह सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले पार्क निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखिएको बताउनुभयो ।

तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङगटी, घरका पिल्लर, इटाहरु भेटिएका उहाँले जानकारी दिनुभयो । ‘जमिनको सतह भित्र तत्कालीन मल्ल राजाका पालाका पुरातात्विक महत्वका सामग्री छन्’, उहाँले भन्नुभयो, ‘भेटिएका सामग्रीलाई सुरक्षित रुपमा राखेका छौ । त्यसको सुरक्षा र संरक्षणका लागि वडा, नगरपालिकालाई अनुरोध गरेका छौ ।’

राजबम मल्लको समयमा १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रुपमा रहेको थियो । नेपाल एकिकरणपछि दरबार भत्किएकाले त्यहाँभित्र रहेका सामग्रीहरु भग्नावशेषमा परिणत भएका छन् ।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा ढोलठानामा सार्वजनिक शौचालय, पदमार्ग र बगैँचा निर्माण गरेर पार्क बनाइएको छ । पार्क बनाउन वन डिभिजन कार्यालयले गत आवमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यसैगरी बेनी नगरपालिकाले ढोलठाना पुग्ने सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरेको छ । चमचा डिलदेखि ढोलठानासम्म दुई सय मिटर ढुंगाको सिँढी चिनेर नयाँ पदमार्ग र प्रतीक्षालय निर्माण गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आवमा ढोलठाना जोड्ने सडक स्तरोन्नतिमा नौ लाख रुपैयाँ, पदमार्ग निर्माण लागि चार लाख रुपैयाँ र प्रतीक्षालय बनाउन दुई लाख रुपैयाँ बजेट खर्च भएको छ । समुन्द्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा अवस्थित ढोलठाना पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ ।

पुरातात्विक सम्पदाको साथै धवलागिरि, अन्नपूर्ण, निलगिरि लगायत दर्जनौ हिमाल, सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो ।

–रासस

Leave a Reply