हिमालको फेदीमा खयरभारानीको सुन्दरता (फोटो फिचर)

0

उत्तरतिर उभिएर हेर्दा चाँदीजस्तै हिमाल । दक्षिणतर्फ फर्कने हो भने म्याग्दी जिल्लाको अधिकांश भू–भाग र बाग्लुङ, पर्वतका डाँडाकाँडाकाे मनारेम दृश्य । नजिकै देखिन्छ अन्नपूर्ण हिमाल । खयरभारानीताल र वरिपरीको रोमाञ्चक दृश्य ।

खयरभारानीताल नजिकै पुगेर हेर्दा मनोरम दृश्यहरुको अवलोकन गर्न पाइन्छ । उकालो हिँडेर ताल छेउमा पुगेपछि थकान मेटिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण हिमाल र वरिपरीको रमाइलो दृश्यलाई जति हेर्‍यो उति हेरिरहुँ जस्तो लागिरहन्छ । प्रसिद्ध खयरभारानीको दर्शन र पूजाआजा गर्न यहाँ पुग्नेहरु आनन्दित हुन्छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित पाउद्वारको खोप्रालेक क्षेत्रमा पर्ने खयरभारानीताल साँच्चिकै सुन्दरताकै खानीका रुपमा चिनिन्छ । विश्वकाे दशौं अग्लो चुचुरो समुन्द्री सतहदेखि ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमालको दक्षिणतर्फ फेदीमा खयरभारानीताल पर्दछ । यो ताल आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । हिमालको दृश्य तालमा पर्नुले पनि सुनमा सुगन्ध थपिन्छ ।

हिमालको फेदीमा अवस्थित खयरभारानी तालको सुन्दरता र आकर्षणको बारेमा शब्दमा वर्णन गरेर सकिँदैन । यहाँ पुग्ने जो कोही पनि ताल नजिकै पुग्नेबित्तिकै फोटो खिच्न लालायित हुन्छन् । लामो दुरीको उकालो हिँडेर थकित पाइलाहरु ताल नजिकमा पुगेपछि त्यहाँ देखिने सुन्दर दृश्यले थकानलाई उतिखेरै मेटाइदिन्छ । वरिपरीबाट पहाडले घेरिएको र बीच भागमा रहेको तालको पृष्ठभूमीमा देखिने हिमालको छाँया थप रोचक र आकर्षक छ । यही दृश्यले मानिसहरुको थकान, भोग र तिर्खा भुलाइदिन्छ ।​

समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइमा रहेको खयरभारानीताल झण्डै एक हजार वर्गमिटर क्षेत्रफलमा गोलाकार रुपमा फैलिएको अनुमान गरिएको छ । खयरभारानी तालले धार्मिकसँगै प्राकृतिक सौन्दर्यताका हिसाबले पनि पर्यटकीय आकर्षणको सम्भावना पनि उत्तिकै बोकेको छ । खयरभारानी तालदेखि तल भिरालो जमिनमा हरियाली फाँटका साथै चारैतिरको मनोरम दृश्यहरु नियाल्न सकिन्छ ।

खयरभारानीताल क्षेत्रको विकास गर्नका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीय चन्दादाताहरुमार्फत आर्थिक सहयोग सङ्कलन गरी आवश्यक पूर्वाधारहरुको निर्माण गरिएको खयर क्षेत्रको विकासमा सक्रिय पाउद्वारका स्थानीय लेफ्टिनेन्ट राजु पुनले जानकारी दिनुभयो ।

बेलायती सेनाबाट सेवानिवृत्त लेफ्टिनेन्ट पुनका अनुसार कुल एक करोड ६० लाख रुपैयाँ सहयोग उठाएर खयरभारानीको मन्दिर, चौतारी, पदमार्ग, आवास, सत्तल, शौचालयलगायत पर्यटनका पूर्वाधारहरु बनाइएको छ । हालसम्म डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा पर्यटनलक्षित पूर्वाधारहरु निर्माण गरिएको बताउँदै उहाँले खयर क्षेत्रमा निर्माण गरिएका सबै संरचनाहरु आर्थिक सहयोगमा बनाइएको बताउनुभयो ।

पर्यटकीय क्षेत्र खोप्रा लेकदेखि खयरभारानी तालसम्म पुग्नका लागि बीच–बीचमा पदमार्ग, चौतारी, खानेपानी र बास बस्ने ठाउँ निर्माण भएका छन् । खयरखोला छेउमा पर्यटकलाई बास बस्नका लागि चारवटा भवन, एउटा ठूलो किचन र शौचालय निर्माण गरिएको खयरभारानीथान तथा क्षेत्र संरक्षण कोषले जनाएको छ ।

अन्नपूर्ण र धौलागिरि रेञ्जका अधिकांश हिमश्रृङ्खलाहरु देखिने खयर क्षेत्रमा अवस्थित खयरभारानी तालमा पर्ने हिमालको प्रतिबिम्ब (छाँया)ले पर्यटकलाई थप मोहित बनाउँछ । एकै दिनमा पटक–पटक परिवर्तन हुने मौसम र बादलको थुम्काले लुकामारी खेलिरहने यहाँको अर्को थप आकर्षण हो ।

खयरभारानीको दर्शन तथा भ्रमणमा निस्कनुभएका आन्तरिक पर्यटक अमृत भादगाउँलेले खयरभारानी प्रकृति र अध्यात्मको दोभान रहेको अनुभव सुनाउनुभयो । उहाँले प्रकृतिको आशिर्वाद सँगसँगै खयरभारानीको आशिर्वाद लाग्ने भन्दै नेपाली र भारतीय तिर्थालु तथा तेस्रो मुलुकबाट समेत पर्यटकहरुले पनि पदयात्रा गर्न सक्ने भएकाले खयरभारानी क्षेत्र धेरै प्रसिद्ध रहेको बताउनुभयो ।

स्थानीय किम्बदन्तीअनुसार बाराही माईका नौ बहिनीमध्ये खयरभारानीताल जेठी, पोखराको फेवातालको बीचमा रहेको तालबाराही माईली, अन्नपूर्ण ७ हिस्तानको घराम्दीस्थित पेरीभारानीताल साइँली हुन् । यसैगरी शिखको कान्छीभारानी, नागीको नागीभारानी, काफलडाँडाको मनिभारानी, खयर क्षेत्रमै रहेका गोर्सेभारानी र कान्छीभारानी पनि खयरभारानीकै बहिनीहरु रहेको स्थानीय बताउँछन् ।

परापुर्वकालमा देवी खयरभारानीको बसोबास रहेको किम्बदन्तीका आधारमा यस क्षेत्रमा स्थानीयवासीले दर्शन गरेमा तथा आफ्नो मनोकामना पुरा हुने जनविश्वासले भाकल गर्ने प्रचलन रहेको छ ।

खयरभारानीताल पुगेका भक्तजनहरुले आफ्नो चाहना वा मनोकामना तलाउमा रहेका पुजारीलाई सुटुक्क भन्ने गर्छन् र पुजारीले भक्तजनले मागेको वर खयरभारानीलाई पुरा गरिदिनु भन्ने चर्को स्वरमा बोल्दै तलाउबाट हिलो माटो र ढुङ्गा आदी झिकेर दिने गर्दछन् । यसलाई नै वर माग्ने भनिन्छ । खयरभारानीताल र थानमा नरिबल चढाउने र भेडाको साँढको बलि दिएर पूजा गर्ने चलन रहिआएको छ । खयरभारानीताल पुगेर वर मागेमा खयरभारानी माताले मागेको वर पुरा गरिदिने जनविश्वासले पनि अधिकांश धार्मिक पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

खयरभारानीको पहिलेको अवस्था

अन्नपूर्ण हिमालको दक्षिणतर्फको फेदीमा धेरै पहिलेदेखि नै खयरभारानीताल रहेको स्थानीयवासीले अनुमान गर्छन् । वरिपरी हिम पहाडले घेरिएको खयरभारानीताल परिसरमा २०४८ सालमा भेडा गोठालाहरुले ढुङ्गाको ढोका भएको थान निर्माण गरेका थिए ।

भेडागोठाला आफै पुजारी भएर पूजा गर्ने र खासगरी जनैपूर्णिमा (ऋषितर्पणी) पर्वमा त्यहाँ पुग्ने तीर्थयात्रीहरुको भाकल गराउने तथा पूजाआजा गर्दथे । पछि आएर २०६९ साल असार ७ गते जग थापेर खयरभारानी थानको निर्माण सकेर सोही वर्षको जनैपूर्णिमादेखि पुजा सुरु गरियो । त्यसपछि क्रमशः खयरभारानीताल तथा खोप्रालेकको प्रचारप्रसारसँगै पछिल्लोपटक अधिकांश धार्मिक पर्यटकहरु खयरभारानीको दर्शन गर्न थालेका हुन् ।

खयर क्षेत्रमा पूर्वाधार थपिँदै

खयरभारानी तालको प्रचारप्रसारसँगै त्यहाँ दर्शन तथा पुजाआजा गर्नका लागि पुग्ने पर्यटकहरुको संख्या बढ्दै गएपछि खयर क्षेत्रमा पूर्वाधारहरु बन्न थालेको छ । पाउद्वारका स्थानीयले आफ्ना दिवङ्गत आफन्तको सम्झनामा खयरभारानीताल पुग्नका लागि पाउद्वार गाउँदेखि खोप्रालेक हुँदै खयरखोला भएर तालसम्मै ठाउँ ठाउँमा चौतारी, धारा, पदमार्गलगायत पूर्वाधाहरु निर्माण गरेका छन् ।

२०६९ सालमा खयरभारानीमा भौतिक पूर्वाधार निर्माणसँगै २०७२ सालमा खयरभारानीथान तथा क्षेत्र संरक्षण कोष स्थापना गरी दर्ता गरेर धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केन्द्रीत भएको पाउद्वारका स्थानीय अगुवा समेत रहनुभएका लेफ्टिनेन्ट पुनको भनाइ छ ।

कहिले–कहिले जाने खयरभारानी

प्रसिद्ध खयरभारानी तालको दर्शन र पूजाअर्चना गर्न खासगरी अधिकांश मानिसहरु जनैपूर्णिमा पर्वमा त्यहाँ पुग्ने गरेका छन् । आफूले चाहेक बर माग्न वा पुरा भएपछि भाकल फर्काउन भन्दै अधिकांश धार्मिक पर्यटकहरु जनैपूर्णिमाको अवसरमा खयर क्षेत्रमा जान्छन् । यो पर्वमा विगतका समयमा धेरे मानिसहरु जाने गरेको भए पनि यसपटक कोरोनाको जोखिमकै बीचमा पनि झण्डै ५ सय जनाको हाहारीमा म्याग्दीसहित विभिन्न जिल्लाबाट धार्मिक पर्यटहरु आएको पाउद्वारका होटल व्यवसायी आशबहादुर तिलिजाले जानकारी दिनुभयो ।

अन्य समय फागुन–चैतको लालीगुराँस फुल्ने र असोज–कात्तिक तथा पर्यटकीय मौसममा विदा मनाउन, घुमफिर गर्न र साथीभाइ मिलेर खयर क्षेत्रको अध्ययन गर्न खोप्रालेक हुँदै खयरताल पुग्ने गर्दछन् ।

पूर्वीय संस्कृतिमा यात्रा–परम्परा तीर्थाटन, देशाटन, भिक्षाटन, धामयात्रा धार्मिक मेला, पर्व आदि भ्रमणका शैलीहरु प्रचलनका रुपमा छन् । लेकाली क्षेत्र र हिमालमुनि मनसुनी यात्रा गर्न रुचाउनेहरु यो समय धार्मिक क्षेत्रमा पुग्छन् ।

कताबाट जाने खयरभारानीताल ?

प्रसिद्ध खयरभारानीताल पुग्नका लागि म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पाउद्वार गाउँसम्म जीप चढेर पुगिन्छ । पाउद्वारमा बास बस्नका लागि स्थानीय होटल र होमस्टे सञ्चालन गरिएको छ । त्यहाँ मगर समुदायको कला, संस्कृति र भेषभूषाको समेत अध्ययन गर्न पाइन्छ ।

एकरात पाउद्वारमा नै बास बसेर भोलिपल्ट बिहान हिँडेर लरेनीको होटलमा पुगेर खाना खानुपर्छ । त्यसपछि उकालो यात्रा गर्दै बेलुकी पर्यटकीय क्षेत्र खोप्रालेक पुगेर त्यहाँ सामुदायिक लजमा बास बस्न सकिन्छ ।

भोलिपल्ट खोप्रालेक क्षेत्रको सुन्दरता नियाल्दै चौंरीगाई र भेडाको फोटो, भिडियो र सेल्फी लिन पाइन्छ । खोप्रालेकको सामुदायिक लजमा खाना खाएर उकालो तथा तेर्सो पदमार्ग हुँदै खयरखोला पुगेर बास बस्नुपने हुन्छ ।

भोलिपल्ट बिहानै धोतीखोलाको उकालो चढेर खयरभारानीताल पुग्न सकिन्छ । त्यहाँ पुगेपछि खयरभारानीको दर्शन, पूजाआजा गरी तस्बिर लिने र पुनः फर्किएर खोप्रालेक बास बस्न आउन सकिन्छ । त्यसपछि अरु दिन पाउद्वार हुँदै आ–आफ्नो गन्तव्यमा फर्कन सकिन्छ ।

धार्मिक र पर्यटकीय क्षेत्रमा पर्यटक

पछिल्लोपटक देशका विभिन्न स्थानमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु पदयात्री र पर्यटकहरुका लागि गन्तव्य बन्दै जान थालेका छन् । व्यस्त दैनिकीबाट ग्रासित मानिसहरु तथा विदा मनाउन, घुमफिर गर्न र साथीभाइ मिलेर रमाउनका लागि स्वदेश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकहरु पर्यटकीय क्षेत्रको अवलोकनमा निस्किन्छन् ।

कुनै बेला नेपाली पर्यटकले बास पाउन मुस्किल हुने नेपाली समाजमा पछिल्लो समय विदेशी पर्यटकले भन्दा नेपालीले नै धेरै खर्च गर्ने गरेका उदाहरण छन् । नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास हुनुका साथै पर्यटकीय क्षेत्रमा भीड लाग्न थालेपछि ती क्षेत्रहरु अहिले पर्यटक आकर्षणको गन्तव्यका रुपमा विकसित हुँदै जान थालेका हुन् ।

Leave a Reply