बागलुङ/ गाउँघरमा काम गर्न छाडेर खाडीमा श्रम बेच्न जानेको भीडमा खाडी छाडेर गाउँमा भैसी पालन गर्ने युवाको जमात बढ्न थालेको छ ।
पर्वतको जलजला–७ का ४० बर्षिय टोपबहादुर क्षेत्री खाडी छाडेर गाउँमा पशुपालन गर्ने सफल युवा उद्यमी हुन् । हरेक दिन बिहान उठेपछि गाइभैसी स्याहारेर हजारौं कमाउने युवामा उनी गनिन्छन् । बिहान ७ देखि ९ बजेसम्ममा उनले बागलुङ बजारका चोक चोकमा लगेर दूध बेचिसकेका हुन्छन् । यसरी दूध बेचेरै दैनिक १० देखि १३ हजार रुपैयाँसम्म कमाउने गरेका छन् ।

एकसय जना उनको दूध किन्ने ग्राहक छन् । ६ बर्षदेखि उनले यो दैनिकी गरिरहेका छन् । १७ बर्षसम्म उनले साउदी अरबमा सवारी चालकमा काम गर्दा नपाएको खुसी गाउँमा आएर भैसी पाल्दा पाएको बताए । मासिक ८ हजारबाट सुरु भएको कमाइ बढीमा २० हजारसम्म पुगेको साउदीभन्दा गाउँको कमाइ ५ गुना बढी भएको उनले बताए । घर फर्केको ६ बर्षमै परिवारलाई खुसी बनाउन सकेको उनले बताए । ‘विदेशमै बसेको भए मेरो मात्र हैन, परिवारकै जीवन बर्बाद हुने रहेछ’ उनले भने, ‘घर फर्केर गरेको कामले मेरो आँखा खोलीदियो ।’ नेपाल फर्केर बाँझिएको जमिनमा खेतीपाती र गाइभैसी पालनले जीवनमा खुशी ल्याएको उनले बताए ।
छिमेकी पर्वतको जलजला गाउँपालिका ८ उनको पुख्यौली हो । पुख्यौली लस्ती गाउँमा उनले १६ वटा भैसी र ३ वटा गाइ पालेका छन् । दैनिक १ सय ६० लीटर दूध उत्पादन हुन्छ । गाई फर्ममा घरका ४ जना र अन्य २ युवाले रोजगारी पाएका छन् । खेतीपाती गरेर पनि उनले बार्षिक २ लाखको मलसमेत बेच्छन् ।

‘सशष्त्र द्वन्द्वका कारण जागिर पाउने आस नभएपछि विदेशिएको थिएँ, तर हन्डर खाएर फर्केपछि यहीं राम्रो भयो’ क्षेत्रीले भने, ‘अब युवाहरुलाई गाउँघरमै काम गर्न सल्लाह दिने गरेको छु ।’ आफ्नै छोरालाई पनि कृषि कर्ममै लगाएको उनले बताए । उनका २१ बर्षिय छोरा लोकबहादुरले पनि गाइ फर्ममै काम गर्छन् । ‘महिना दिन काम गर्दा हात नपर्ने पैसा दिनदिनै आउँछ, किन विदेश जाने, किन अरु जागिर खोज्ने ? उनले भने, ‘अझै गाइभैसी थपेर आम्दानी बढाउने हो ।’
बागलुङ बजारमा अहिले पनि दूधको माग बढीरहेको उनले बताए । ‘कहिले ढिला आइपुग्छन्, तरपनि राम्रो दूध भएकोले कुरेरै खाने गरेकी छु’ बानपा–२ की कल्पना सापकोटाले भनिन्, ‘बालबालिकाको लागि पनि राम्रो भएको छ ।’ क्षेत्रीले लोकल घिउ र पनिर पनि बनाएर आवस्यकता अनुसार बिक्री गर्छन् । आधा खर्च गर्दापनि दैनिक ८ हजार नाफाबाट मासिक २ लाख ४० हजारसम्म कमाइ भएको उनले बताए ।
उनीहरुले दूधका क्यान पिठ्युँमा बोक्नु पर्दैन । मोटरसाइकल र स्कुटरमा पालैपालो लगेर बेच्ने गरेको उनीहरुले बताए । क्षेत्रीको प्रेरणाले भाइ इन्द्रले पनि गाइभैसी पालेका छन् । बहराइनमा रोजगारीमा गएको एक बर्षमै फर्केका इन्द्रले पनि दैनिक ८५ लीटर दूध बेच्न थालेका छन् । ‘बागलुङका चोक चोकमा हामीलाई कुरेर बस्छन्, लोकल दूध भनेपछि सबैको चासो पनि बढेको छ’ उनले भने, ‘यहाँ पाइने सम्मान छाडेर असुरक्षित रोजगारीको खोजीमा डुलेका रहेछौं, अहिले बुझ्न पाइयो ।’ दाइको प्रेरणाले यो पेशामा लाग्न सकेको उनले बताए ।

जलजला गाउँपालिकाले पशुपालक किसानलाई प्रोत्साहन दिने योजना ल्याएपछि क्षेत्री दाजुभाइको परिवारमा हौसला थपिएको छ । पशु प्राविधिकको नियमित अनुगमन, घाँसको बीउ बितरण तथा रोगको परीक्षणमा गाउँपालिकाले निशुल्क सेवा दिएको वडा अध्यक्ष हरिबिकास जिसीले बताए । वडालाई नै कृषि व्यवसायको केन्द्र बनाउने योजनामा सफलता मिल्दै गएका उनले बताए । ‘गाउँभरी तरकारी र दुध उत्पादनमा धेरै किसान जोडिएका छन्’ उनले भने, ‘बजारीकरणमा पनि सहयोग गरेका छौं ।’ निशेधाज्ञाको समयमा पनि ढुवानीमा सहजीकरण गराएको उनले बताए । Dhorpatannews.com

Leave a Reply