मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक आज बिहीवारदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो ।

वर्षाका कारण पहिरो खसेर गएको आइतवारदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीको जेसिभी मेशिन मगाएर पहिरो पन्छाइएको हो ।

बेनी–जोमसोम सडक खण्डमा कहिले वर्षाका कारण पहिरो र कहिले सुख्खा पहिरोले अवरोध पुर्‍याउँदा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।

७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोला, २ बैंसरी, ३ राहुघाट, अन्नपूर्ण २ नैनीबगर, ३ दानाको गुईँठे, जलथले, रुप्सेखोला, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर तथा घोप्टेभीर क्षेत्र पहिरोको उच्च जोखिममा पर्दछन् ।

Leave a Reply