अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चारजिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको छ । यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ ।

धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो । तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ । पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार राजमार्ग एकतर्फी खुलाउन पनि कम्तिमा ३–४  दिन लाग्छ । तर, त्यो पनि निश्चित छैन । किनकी अवस्था निकै नै जटिल छ ।

‘सडक पुरै बगेको हो वा माथिबाट झरेको पहिरोले मात्र पुरेको छ भन्ने यकिन छैन । सडक नै बगेको भागमा तलैबाट उठाएर सडक बनाउनुपर्छ,’ खत्रीले भनिन, ‘झन्डै चारकिलोमिटर सडक छियाछिया छ । त्यसैले एकतर्फी सडक खुलाउन पनि कम्तिमा चारदिन लाग्ने अनुमान छ ।’ सडकमा थुप्रिएको ढुंगा, माटो, लेदो, रुखका मुढा हटाएर मात्र सडक खुलाउन पाए ३÷४ दिनमा एकतर्फी खुला गर्न सकिने उनले बताईन ।

‘पहिरो हटाउनका लागि अहिले पातीचौर र कुश्मातिरबाट दुईदुईवटा उपकरण परिचालन गरिएको छ । तर, पुरै बगेको सडकमा भने तलैबाट पर्खाल लगाएर उठाउनुपर्ने हुँदा समय लाग्छ,’ उनले भनिन, ‘चारकिलोमिटर खण्डमा ११ ठाउँमा पहिरो झरेको छ । पहिरो पनि बढेमानको छ । माथिदेखि नै झरेको पहिरोले पुरै भित्तो बगाएको छ ।’

मध्यपहाडी लोकमार्गमा पर्ने भएकोले सडक खुलाउन मध्यपहाडी आयोजनासँग पनि सहयोग मागिएको उनले बताईन । ‘अतिवृष्टि नै भयो । एकैछिनको भीषण वर्षाले मानवीय र भौतिक क्षति पु¥यायो,’ उनले भनिन । उनका अनुसार पर्वत सदरमुकाम कुश्मा कटेपछि बागलुङ र म्याग्दीसम्म आउजाउमा भने कुनै समस्या छैन । तर, पोखराबाट गएका सवारी कुश्मा पुग्नै सक्दैनन । तर विद्युत र संचार सेवा भने बागलुङ, म्याग्दी र मुस्ताङमा पनि अवरुद्ध भएको छ ।

‘गम्भिर खालका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउनुपरेमा सकस छ । किनभने बाटो छैन । ग्रामिण क्षेत्रमा पनि आउजाउ बन्द छ । गम्भिर प्रकृतिका बिरामीलाई पोखरा लैजानुपरे हेलिकप्टर खोज्नुपर्ने हुनसक्छ,’ उनले भनिन, ‘पोखरा जानु नपर्ने बिरामीलाई बागलुङको धवलागिरी अञ्चल अस्पतालमा पठाउने भनिएको छ ।’

‘कुन ठाउँमा के भएको छ भनेर समेत भन्न सकिने अवस्था छैन । किनकी फोन सम्पर्क हुन पनि निकै कठिन छ,’ उनले भनिन । उनका अनुसार कुश्मा नजिकैको नेपाल विद्युत प्राधिकरणको मोदीखोला विद्युत गृह र निजी क्षेत्रको मोदीखोला–१  आयोजनाको बीचमा रहेको टावर पहिरोले ढालेको छ । पर्वतमा विहीबार रातीको भीषण पहिरोले घर पुरिँदा विभिन्न ठाउँमा ११ जनाको ज्यान गएको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले पनि विद्युत, टेलिफोन र यातायात सेवा प्रभावित भएको बताए । उनका अनुसार विद्युत सेवा अवरुद्ध हुँदा त्यसको मार संचारमा पनि परेको छ । केही टावरमा रहेको ब्याकअपले अहिलेसम्म बेलाबेला सञ्चार सम्पर्क कायम गराएपनि विद्युत आपूर्ति गर्न नसके त्यो सेवा रोकिने टेलिकमले जानकारी दिइसकेको अधिकारीले बताए । ‘विद्युतको टावर ढलेपछि प्रशारण रोकिएको छ । त्यसको मार संचारमा परेको छ । संचार कायम गर्न नपाउँदा कहाँ के भएको छ भनेर समेत भन्न सकिएको छैन,’ उनले भने । Nagariknews.com

Leave a Reply