अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज नरदेवी पुनले नेतृत्व गर्ने व्यक्तिले आम नागरिकका समस्याहरुको समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । अनेमसंघ म्याग्दीले सदरमुकाम बेनीमा  अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्व मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएकी एमाले नेतृ पुनले अनेमसंघमा लाग्ने महिलाहरु सादा जीवन र उच्च विचारको हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरल स्वभाव र नागरिकले सजिलैसँग आफ्नो कुरा तपाईँहरुसँग राख्न सक्ने र आफ्नो समुदायले, आफ्नो छिमेकी र आफ्ना नागरिकहरुले राखेको जुन समस्या छ, त्यसलाई हल कसरी गर्न सकिन्छ भनेर चिन्तन–मनन गर्न सक्ने मान्छे नेता बन्न सक्छ ।’ र तपार्इँहरुलाई म त्यसको शुभकामना दिन चाहन्छु । उहाँले भन्नुभयो, किनभने ६ महिनापछि हाम्रो स्थानीय तहको निर्वाचन हुँदैछ त्यो निर्वाचनमा तपार्इँहरु आ–आफ्नो ठाउँबाट निर्वाचित भएर जनताको सेवामा जुट्नका लागि शुभकामना दिन चाहन्छु’ उहाँले थप्नुभयो ।

अहिलेको सरकार आम नेपाली जनताको सरकार नभई यो सर्वोच्च अदालतले बनाइदिएको परमादेशको सरकार भएको बताउँदै पूर्वमन्त्री पुनले कांग्रेस नेतृत्वको सरकारले भूमिहिनहरुका लागि समस्या समाधान गर्न बनाइएको सुकुम्वासी आयोग खारेज गरेर जनघाती काम गरेको आरोप लगाउनुभयो । उहाँले जयसिंह धामी बेपत्ता प्रकरणमा अहिलेको सरकारले भारतसँग स्पष्ट रुपमा कुरा राख्न नसकेको भन्दै उहाँले यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा काम र अहिलेको सरकारले गरेका गलत कामको बारेमा प्रष्टसँग जनताको माझमा लैजान सुझाव दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्माले पार्टी सदस्यता नवीकरण तथा विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी चुनावमा माधव नेपालको पार्टीबाट उठ्ने उम्मेदवारको धरौटी जफत हुने भन्दै मन्त्री नपाएपछि नेकपा एकीकृत समाजवादीमा लागेका अधिकांशले पार्टी छाड्ने ठोकुवा गर्नुभयो । उहाँले पार्टीका हरेक तह र तप्कामा नेतृत्व चयन गर्दा नेतृत्वमा आउने व्यक्तिको समग्र मूल्याङ्कन गरेर मात्रै अगाडि लैजानुपर्ने बताउनुभयो ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले अनेमसंघको अगुवाइमा स्थापित महिलाको हक र अधिकारको कार्यान्वयन गर्नका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले विगतमा एमालेको नौ महिने सरकारले थुप्रै लोकप्रिय कार्यक्रमहरु ल्याएको स्मरण गर्दै अहिले ती कार्यक्रममार्फत नगर तथा गाउँ र वडामा करोडौं बजेट जाने गरेको बताउनुभयो । ज्येष्ठनागरिक, एकल महिला, अपाङ्गलाई सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्थासहित गाउँगाउँमा थुप्रै बजेट पठाउने परिपाटीको एमालेले सुरुवात गरेको बताउँदै अध्यक्ष श्रेष्ठले यसअघि केपी ओलीको सरकारले जनमुखी बजेट र कार्यक्रमहरु ल्याएको दावी गर्नुभयो ।

तीन दिनसम्म चलेको कार्यक्रममा एमाले नेताहरु नरदेवी पुन, नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी र थमसरा पुनले विभिन्न विषयहरुमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा अनेमसंघका पूर्व जिल्ला उपाध्यक्ष यशोदा रोका, बेनी नगरपालिका संयोजक मिना राम्जाली र जिफन्ट म्याग्दीका अध्यक्ष बलादेवी राईले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम अनेमसंघका जिल्ला अध्यक्ष थमसरा पुनको अध्यक्षता, सदस्य एवं मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको सञ्चालन र मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीहरुलाई अनेमसंघ म्याग्दीले सम्मान गरेको थियो ।

Leave a Reply