दानवीय शक्तिको प्रतिक लाखेको बधसंगै म्याग्दीमा विगत एक महिनादेखि देखाउँदै आइएको बर्खेनाचको समापन गरिएको छ ।

कोरोना भाइरस संक्रमणको त्रासका बिच सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’  बिहीबार (आज) देखि समापन भएको हो । कोरोनाको जोखिमसँगै नियमित कार्यतालिका हेरफेर गरी सञ्चालन गरिएको बर्खे नाच अन्तरगत हिन्दू नेपाली महिलाको महानपर्व तीजको साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले वध गरेर नाच सकिएको हो ।

बेनीबजारको संगमचोकमा परम्परागत विधि पुरा गरी बर्खेनाचको समापन गरिएको नेपाल भाषा मंकाःखल अन्तर्गतको ल्याम पुचःका अध्यक्ष सुवीन श्रेष्ठले बताउनु भयो।

राक्षसको रुपमा रहेको लाखेलाई भगवान श्रीकृष्णले बध गर्नुहुन्छ,‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ’ श्रेष्ठले भन्नुभयो । राक्षसको रुपमा रहेको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि गरेको प्रचलन छ। विगतमा बेनीबजार परिक्रमण गरी गणेश मन्दिरमा लाखेसँग भएको भीषण लडाइँमा भगवान् श्रीकृष्णले हत्या गरेपछि हरेक वर्ष बर्खेनाच सकिने गरेपनि यसपटक सिधै मन्दिरमा मात्रै सञ्चालन गरिएको थियो । लडाइँमा भगवानले वध गरेपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन समेत गर्ने गरिन्छ ।

बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिएको छ ।

समाजमा दुःख दिने पात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमापश्चात कालीगण्डकी नदीमा बगाएर सुरु हुने बर्खेनाचको अन्त्य पनि समाजलाई दुख दिने राक्षसको बधसँगै विसर्जन हुने गरेको छ ।

बेनीमा देखाइने बर्खे नाच बेनीबजारबासीको सांस्कृतिक सभ्यताको रुपमा समेत हेर्न गरिन्छ । सदरमुकाम बेनीमा मानवबस्तीको विस्तार भएको करिब साढे ३ सयबर्ष पुरानो इतिहासको झल्को समेत बर्खेनाचले दिने गरेको स्नानीयको भनाइ छ ।

Leave a Reply