पहिरोले रोकिएको मध्यपहाडी सडक एकतर्फी सञ्चालनमा आएको छ । गत बिहीबार आरीघोप्टे वर्षासँगै खसेका पहिराले पर्वत खण्डको साढे आठ किलोमिटर सडक क्षतविक्षत भएको थियो । मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा नगरपालिका–७ खरेहासम्मको क्षेत्रमा २० वटा ठुल्ठूला र दर्जनौं सानातिना पहिरा थिए । माटो र लेदोसहितका पहिरा हटाउन सातवटा एस्क्काभेटर, चारवटा जेसीभी र त्यत्तिकै मात्रामा ट्रिपरलाई आठ दिन लागेको हो ।

भ्याप्लेखोलामा ४० फिट उचाइको चट्टाने पहिरोले सडक खुलाउन सबैभन्दा समस्या भएको हो । उक्त पहिरो भने नेपाली सेनाको सहयोगमा विस्फोट गराएर सफा गर्नमात्रै चार दिन लागेको हो । चट्टाने पहिरोकै कारण सडक सञ्चालनमा आउन समस्या भएको थियो । मोदी गाउँपालिका–५ भ्याप्लेखोलाको चट्टाने पहिरो हटाएर साँझ ६ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याइएको हो । राजमार्ग खुलेपछि सवारीहरु गन्तव्यमा जान थालेका छन् । लेदोसहितको गेग्र्यान सडकभरि भएका कारण साना सवारीलाई भने आउजाउमा समस्या छ ।  राजमार्गको साढे आठ किलोमिटरमध्ये आधा सडक ढाक्नेगरी खसेका पहिरामा एकतर्फीमात्रै सञ्चालन हुँदा सवारी जाम हुने, साना सवारी हिलोमा फसिने समस्या रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले बताए ।

Leave a Reply