हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर बुधबार म्याग्दीको सदरमुकाम बेनीमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघ म्याग्दीको आयोजनामा अनलाइनमार्फत एकल खुल्ला नृत्य प्रतियोगिता गरिएको हो ।

‘हाम्रो कला, संस्कृति, गौरव र शान, कलाकर्मीको उत्थानका लागि हाम्रो अभियान’ भन्ने मूल नारासहित सञ्चालित नृत्य प्रतियोगितामा कुल ४८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । अनलाइनमार्फत गरिएको नृत्य प्रतियोगिताको पहिलो राउण्डको प्रतिस्पर्धाबाट २० जना, दोस्रो राउण्डबाट १० जना र तेस्रो राउण्डबाट ५ जना छनोट गरिएको थियो ।

  • यसअघि अनलाइनमार्फत नै प्रतियोगीहरुबीच प्रतिस्पर्धा गरिएको थियो भने बुधबार भौतिक रुपमा प्रतियोगी कलाकारलाई उपस्थित गराएर प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ । एकल खुल्ला नृत्य प्रतियोगिताको फाइनलबाट जिविता खत्री प्रथम, कमला थापा द्वितीय, देविना घर्ती तृतीय, अस्मिता परियार र मनिसा खाती सान्त्वना भएका थिए । उनीहरुलाई क्रमशः नगद १० हजार, सातहजार, चारहजार, दुई–दुई हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सोही कार्यक्रमको अवसरमा अग्रज कलाकार तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल म्याग्दीको सल्लाहकार समेत रहेकी लोकगायिका धनकुमारी थापालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसैगरी कार्यक्रम संयोजक गोकुल सुनारलाई पनि सम्मान गरिएको थियो । स्रष्टा सम्मान, पुरस्कार वितरण तथा समापन समारोहको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले कला, संस्कृति र लोकसङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनले सङ्गीतकर्मी संघलाई आवश्यक पर्ने सबैखाले सहयोग गर्ने बताउँदै आगामी दिनमा म्याग्दी उद्योग वाणिज्य संघले सङ्गीतकर्मी संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

सम्मानित व्यक्तित्व तथा अग्रज कलाकार धनकुमारी थापाले पहिलेको समयमा अहिले जस्तो सञ्चारमाध्यमहरु र प्रविधि नभए पनि आफू देशका विभिन्न जिल्लामा पुगेर विभिन्न पतियोगितामा सहभागी भएको स्मरण गरिन् । उनले म्याग्दीको चिमखोलाबाट सुरुवात गरिएको हातमा थाल राखेर नचाउने (थालीनाच)को प्रस्तुतिमार्फत म्याग्दी जिल्लालाई देशैभरी चिनाएको बताएकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले कला, संस्कृति र गीतसङ्गीतको संरक्षण एवं प्रचारप्रसार गरिने बताउँदै पुराना लोक भाका र लोकगीतको संरक्षण गर्नका लागि सङ्गीतकर्मी संघले पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिेर, नृत्य प्रतियोगिताका निर्णायक संयोजक भूपेन बानियाँ, राष्ट्रिय सङ्गीतकर्मी संघ गण्डकी प्रदेशका सदस्य डिलु फगामी, म्याग्दी जेसीजका अध्यक्ष वीरेन्द्र श्रेष्ठ र म्याग्दी साहित्य सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछानेले मन्तव्य राखेका थिए । राष्ट्रिय सङ्गीतकर्मी संघ म्याग्दीका अध्यक्ष बिपिन पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष किसान विश्वकर्माको स्वागत, महासचिव कमल पौडेल र गोकुल सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको पुरस्कारको विभिन्न व्यक्तिहरुले सौजन्य गरेका थिए ।

Leave a Reply