बागलुङ नगरपालिका–३ काठेखोलाको एक कृषि फार्ममा चितुवा पसेर लाखौंको क्षति पुर्याएको छ । जिम्माल कृषि फार्ममा बिहिबार दिउँसो पसेको चितुवाले बिभिन्न जातका कुखुरा मारेर खाएको हो । स्थानीय जातका कुखुरा, कडकनाथ, लुईचे लगायतका झण्डै पाँच सय कुखुरा चितुवाले खाएको फार्म सञ्चालक पारस केसीले बताए ।

फार्ममा कोही नभएको बेला पसेको चितुवाले बिक्रीका लागि तयार भएका कुखुरा खाईदिएको केसीले गुनासो गरे । साढे पाँच लाख मुल्यका कुखुरा एकैपटक खाईदिएको केसीले बताए । जंगल छेउमा रहेको फार्ममा पहिलोपटक चितुवा पसेको हो । सुरक्षाका लागि लगाईएको तारबारसमेत छलेर चितुवा फार्ममा पसेको केसीले बताए ।

‘बर्षदिन लगाएर तयार पारेका कुखुरा एकैछाक बनायो’ केसीले भने ‘बचेका कुखुरा समेत घाईते छन्, एकै पटक ठुलो क्षति व्यहोर्नुपर्यो ।” यसअघि पनि उक्त फार्ममा बाढी पसेर क्षति पुर्याएको थियो । बाढी पसेर कुखुरा पालनका लागि तयार रहेको भवननै भत्किँदा लाखौंको क्षति भएको थियो ।

Leave a Reply