राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा पैदलयात्रु र सवारी साधन जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्

बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण गर्न ढिलाई हुँदा बर्खा याममा बेनी-जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ति र झञ्जट ब्यहोर्नुपरेको हो।

बेनी-जोमसोम म्याग्दीको रघुगंगा गाउँपालिकाको तीन वटा र अन्नपूर्ण गाउँपालिकाको सबै वडालाई सदरमुकाम बेनीसँग जोड्ने एक मात्र सडक मार्ग हो।

भदौ १९ गते शनिबार बेनी देखि घरतर्फ जादै गरेका अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ७८ वर्षीय सुर्जबिर पुन रघुगंगा गाउँपालिका-१ स्थित बेगखोलाले बगाएर बेपत्ता भए। बेगखोलाले बगाएर कालीगण्डकीमा मिसाएका पुन अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बेनीबाट पाउरोटी लगेर गाउँमा बिक्री गरी जिविकोपार्जन गर्दै आएका सुर्जबिर बेपत्ता भएको घटना बेगखोलाको जोखिम र सास्तीको अवस्था झल्काउने उदाहरण हो। २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल सहित बेगखोलामा ११ वटा घर बगाएको थियो। एक जना बेपत्ता भएका थिए।

कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ। पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ। बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ। बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ। बाढी आएको अवस्थामा स्काभेटरलाई पैसा तिरेर बकेटमा बसेर मानिसहरु खोला वारपार गर्छन्।

यसैगरी बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण-३ दानास्थित रुप्सेखोलामा २०७७ साउन ५ गतेको बाढीले निर्माणाधिन मोटरेबल पुल बगाएको थियो। बेग र रुप्सेखोला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको टाउको दुखाइको बिषय बनेको छ।

७६ किलोमिटर दुरीको यो सडक बर्खा याममा बेग र रुप्सेखोलामा दैनिकजसो अवरुद्ध हुने अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीका वडा सदस्य बुद्धी पुनले बताए।  सडक पुल निर्माण नहुँदा सम्मका लागि पैदलयात्री र मोटरसाइकल आवत जावतलाई सहज बनाउन गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीले झोलुङ्गे पुल बनाउन ठेक्का प्रस्ताव आव्हान गरेको छ ।

बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाईको सडक पुल निर्माण गर्न आठ करोड ४७ लाख ४२ हजार ३२० रुपैयाँ लागत अनुमान गरिएको छ । पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तल माथि दुईतर्फ २६० मिटर लम्बाईमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्बजनिक सुनुवाईमा जानकारी गराइएको थियो ।

बेनी-जोमसोम-कोरला सडक आयोजना मार्फत निर्माणाधिन रुप्से खोला पुलको संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको आयोजनाका इञ्जिनियर आश्विनीकुमार यादवले बताए ।  source Annapurnapost.com

 

Leave a Reply