बागलुङमा उत्पादन भएका आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेको छ । बागलुङ नगरपालिका–१२,अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका हुन् । सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरिद गरेर त्यहाँका किसानलाई उपलव्ध गराउन थालेको हो ।

सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीहरुसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलव्ध गराउने जिम्मेबारी पाएको थियो । पहिलो चरणमा २ सय २६ वटा घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताए ।
‘पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेश गरेका थियौं, हाम्रो घारको गुणस्तर र मुल्य दुबै सारभूत भएको भन्दै हामी छनौटमा परेको सूचना आयो’, खत्रीले भने ‘त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्ने छ ।’

अहिले पनि भारतबाटै मौरीका घार नेपालमा आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घर घरमा पुग्नु आफ्नो लागि सुखद पक्ष भएको खत्री बताउँछन् । ‘सुन्दै आएको छु वार्षिक रुपमा नेपालमा ४० देखि ५० हजार मौरीघार भारतबाट आयात हुन्छ, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिन्छ’, उनले भने ।

टुनीको काठबाट बनेका घरको माग छ । पहिलोपटक भारत निर्यात गर्न थालेको उद्योगले नेपालबाट भन्सार पार गाराउन पु¥याउनुपर्ने प्रक्रिया भने झण्झटिलो रहेको जनाएको छ । ‘युवाहरु किन यहाँ काम हुँदा हुँदै विदेशिन्छन भनेर बल्ल बुझ्दै छु, घार बनाउन गाह्रो छैन् तर बिक्री गर्ने प्रक्रियाले बनाउँदाको भन्दा तीन गुणा बढी झण्झट व्यहोर्नु प¥यो’,खत्रीले भने,‘वातावरण सहज भए हाम्रो उत्पादन पनि बिदेश निर्यात हुने रहेछ ।’
उद्योगमा ९ जना कालिगडहरुले घार बनाउने काम गर्छन् । नेपालमा मात्रै खपत हुने गरेका मौरीघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्री बताउँछन् । वार्षिक १ हजार २ सय घार उत्पादन गर्दै आएको उद्योगले पोखराबाट टुनीको काठ खरिद गरेर घार बनाउने गरिएको छ । मूल्य प्रतिघार ३ हजारदेखि ३ हजार ६ सय रुपैयाँसम्म रहेको छ ।

‘यो जिल्लाबासी र देशकै लागि सुखद कुरा हो, छिमेकी मुलुकमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न पाउनु’, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई भन्छन् ‘वैज्ञानिक रुपमा उत्पादन भएका घार निर्यातमा हामी सहयोग गर्छौं ।’ उद्योगले मौरीसहितको घारलाई भने ८ हजार ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको छ । १ सय घार मौरी रहेको उद्योगमा वार्षिक हजारौं लिटर मह उत्पादन हुन्छ । बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो १ हजार रुपैयाँमा बजारमा बिक्री हुने गरेको छ ।

Leave a Reply