---Advertisement---

म्याग्दीका बिद्यालय असोज १ गतेदेखि सञ्चालन गर्न प्रशासनको अनुमति

On: September 13, 2021 5:01 PM
Follow Us:

कोरोना भाइरस संक्रमणका कारण लामो समय बन्द रहेको म्याग्दीका बिद्यालय असोज १ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय मा सोमबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गत बैशाख दोस्रो हप्तादेखि बन्द भएका शैक्षिक संस्था खुलाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड–१९ सम्बन्धी सुष्म योजना र ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार बिद्यालय  खुलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

“बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट बिद्यालय खुलाउन सिफारिस भएर आएको थियो,” उहाँले भन्नुभयो “कोरोना संक्रमणको दर घटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय भएको हो ।”

धवलागिरी, रघुगंगा, मंगला र अन्नपूर्ण गाउँपालिकाले यसअघिनै बिद्यालय सञ्चालन गरिरहेका थिए ।

म्याग्दी कोरोनाका सक्रीय संक्रमितको संख्या ५० जना भन्दा कम छ । ४५ मध्य ३० वटा वडामा कोरोना संक्रमित छैनन् । रेडजोनबाट ग्रिनजोन बनेको छ । हालसम्म जिल्लाभर तीन हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीमा हालसम्म ३२ हजार जना भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाएका छन् । १८ वर्ष भन्दा माथि उमेर समूहका नागरिकको संख्या ६७ हजार जना छ ।

धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना बिरुद्धको खोप लगाएका छन् । जिल्लाभित्र ५४ र जिल्ला बाहिर २६ जना गरि कुल ८० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।