कोरोना भाइरसको दोस्रो लहरपछि म्याग्दीस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्। संसारको सातौं (८,१६७ मिटर) अग्लो धौलागिरी हिमाल आरोहणका लागि पर्यटक आएका हुन्। यो हिमाल धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथ प्रर्दशक, भरिया र सहयोगीहरु आधार शिविर पुग्न थालेपछि चहलपहल शुरु भएको हो। शरदकालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोहीहरु हेलिकप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन।

काठमाडौंदेखि म्याग्दीको बाबियाचौरसम्म गाडीमा आएका आरोही टोली त्यहाँ देखि आइतबार हेलिकप्टर चढेर आधार शिविर पुगेका हुन्।

सेभेन समिट र पाइनर ट्रेक मार्फत आएका आरोहीहरु बाबियाचौरबाट हेलिकप्टर चढेर आधार शिबिर गएका स्थानीय स्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए। सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकप्टर चढेर गएका हुन्।

‘आइतबार २० जनाको टोली हेलिकप्टरबाट आधार शिविर पुगीसक्यो,’ शेरचनले भने ‘मार्फाबाट गएको थप २० जनाको टोली मंगलबारसम्म आधार शिविर पुग्छ।’ उनका अनुसार हिमालयन र डोल्मा ट्रेक मार्फत अनुमति लिएका पर्वतारोहीहरु काठमाडौंबाट आउने तयारीमा छन्।

जापान, चिन, स्पेन लगायत देशका पर्वतारोहीहरु धौलागिरी आरोहणका लागि आएका सेभेन समिट ट्रेकबाट आएकी माया शेर्पाले बताइन्। उनी, पुर्णीमा श्रेष्ठ लगायत नेपाली पर्वतारोहीहरुको टोली पनि धौलागिरी आरोहणमा जाँदैछ।

‘धौलागिरीमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन,’ उनले भनिन् ‘यो याममा हामी नेपाली महिला पर्वतारोहीहरु धौलागिरी चढ्ने तयारीमा छौं।’ सो टोलीले गत बैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलो पटक चढ्ने नेपाली महिलाहरुको किर्तिमान बनाएका थिए।

८३ वर्षमा प्रवेश गरेका स्पेनका कार्लोस सोरिया पनि धौलागिरी आरोहणका लागि आएका छन्। उनले गत याम सहित ११ औ पटकसम्म धौलागिरी हिमाल आरोणको प्रयास गरेका थिए।

पर्यटन विभागले यही भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरेको थियो। भदौ २५ गतेसम्म ४० जनाले धौलागिरी हिमालको आरोहणका लागि अनुमति लिएर रु.४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जनाएको छ।

शरदयाममा सगरमाथा बाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्छ। अन्य साना हिमालका लागि न्यूनतम १ सय २५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्छ। Annapurnapost

Leave a Reply