साँझको समयमा शरीरमा सेतो धर्को भएको पुतली तपाईंको वरिपरि देख्नु भएको छ भने सजग रहनुस् है ! किनभने यसले गर्दा तपाईंको आँखाको ज्योति सदाका लागि गुम्न सक्छ, त्यो पनि ४८ घन्टाभित्रै ।
प्रत्येक २/२ वर्षमा देखापर्ने शापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) आतंक गण्डकीमा फेरि देखिएको छ । सेतो पुतलीको रौं (झुस) आँखामा परे आँखामा पीप जम्ने र सुकाउने हुनाले ज्योति पनि गुम्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

साँझको समयमा उज्यालो वस्तु वरिपरि भुम्मिने उक्त पुतलीका कारण लाग्ने उक्त रोग एक महिना नबित्दै ३० जनामा देखिएको हिमालयन आँखा अस्पताल, पोखराले जनाएको छ । जसमध्ये ४ जनाले पूर्ण रुपमा आँखाको ज्योति गुमाइसकेका छन् ।

बाँकीको पनि अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । सोमबारमात्रै अस्पतालमा पोखराका ३ र बागलुङ, ढोरपाटनका एकजना शापुकै उपचारका लागि अस्पताल आएका छन् ।
विशेषगरी मनसुन अन्तिमबाट देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ । शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने अस्पतालका मेडिकल डाइरेक्टर डा इल्या श्रेष्ठको बताउँछिन् ।

‘सुरुमा कुनै दुखाइ हुँदैन । आँखा रातोमात्रै हुन्छ । तर, विस्तारै आँखामा पिप जम्न थाल्छ । पिप सुक्दै जाँदा विस्तारै दृष्टि पनि हराउँदै जान्छ,’ डा श्रेष्ठ भन्छिन्, ‘यस्तोबेला तत्काल अस्पताल नआए जीवनभरकै लागि आँखाको ज्योति नै गुम्न सक्छ । त्यसको उपचार कहीं हुँदैन ।’

२०३२ सालमा पहिलो पटक पोखरा क्षेत्रमै देखा परेको शापुले बालबालिकालाई बढी प्रभावित पारेको छ । तर, यस वर्ष भने ६५ वर्षीय एक व्यक्तिमा पनि सेतो पुतलीको असर देखिएको डा श्रेष्ठले जानकारी दिएकी छन् । ‘यसको सबैभन्दा बढी जोखिममा बालबालिका छन् । उनीहरु आफूमा भएको समस्या पनि बताउन सक्दैनन् । टेस्ट गर्न पनि एकदमै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘त्यसैले बालबालिका बढी जोखिममा छन् ।’
यसवर्षको पहिलो शापु केस भदौ १३ गते देखा परेको थियो । म्याग्दी, बेनीका १८ वर्षीय युवक आँखामा समस्या देखिएपछि उपचारका लागि अस्पताल आएका थिए । तर, अस्पताल आउन धेरै ढिलो हुँदा उनले ज्योति गुमाइसकेको डा श्रेष्ठले सुनाइन् ।

‘आँखामा सेतो पुतलीको झुस परेको ४ दिनपछिमात्रै हाम्रो सम्पर्कमा आउनु भयो । अरुको दुखाइ कम हुन्छ । तर, उहाँको एकदमै धेरै दुखाइ भएपछि आउनु भएको रहेछ,’ डा श्रेष्ठले भनिन्, ‘आँखामा पिप जमेर पनि सुक्न सुरु भइसकेकाले ‘इम्प्रुभ’ हुन सकेन । पछि उहाँ काठमाडौं जानुभयो ।’
प्रत्येक २÷२ वर्षमा आउने भएपनि सन् २०१८ र १९ मा भने लगातार शापु देखा परेको डा श्रेष्ठले जानकारी दिइन् । भदौदेखि मंसिर महिनासम्म देखा पर्ने शापु सन् ०१९ मा १६ जनामा देखिएकोमा यस वर्ष भने छोटो समयमै दोब्बरमा देखिएको हो । अस्पतालको सम्पर्कमा आएकामध्ये यो समस्याबाट सबैभन्दा बढी कास्की, बागलुङ, पर्वतका रहेको अस्पतालले जनाएको छ ।Source: dhorpatannews.com

Leave a Reply