नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन भएका छन् ।

बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्मा अध्यक्षमा चयन भएका हुन् । सोही भेलाले विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहेका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य समेत हुन् । त्यसैगरि कमिटीको उपाध्यक्षमा हेमराज शर्मा, सचिबमा दुर्गा कार्की, सहसचिबमा जिवन सापकोटालाई चयन गरिएको छ ।

नेकपा एमाले विभाजन भएपछि म्याग्दीमा तीन जनप्रतिनिधिले एकिकृत समाजवादीमा सनाखत गरेपछि जिल्ला भेला तथा कमिटी गठनको प्रयास थालिएको थियो ।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले ६ महिनाभित्र जिल्लामा संगठन निर्माण र विस्तारको अभियान चलाउने कार्यतालिका बनाएको बताउँदै पार्टीलाई छोटो समयमै गतिशिल बनाउन आफु प्रयासरत रहने प्रतिबद्धता जनााए । उनले केपी ओलीले एमाले विभाजन संगै कम्युनिष्ट आन्दोलन र प्राप्त उपलब्धीहरु मास्न उद्धत रहेकाले पार्टीको पुनर्गठन गर्नुपरेको बताए ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य चुडामणी जंगलीले पार्टीका नेतामा कुशल नेतृत्व र असल नैतिकता हुनुपर्ने बताउँदै ओलीले नेतामा हुनुपर्ने दुबै गुण नबोकेको कारण पार्टी टुटफुट भएको बताए ।

केपी ओलीले एउटै कार्यकालमा पार्टीलाई दुई पटक र जनताको सर्वोच्च निकाय संसदलाई दुई पटक असंवैधानिक तवरले विघटन गरेर राजनैतिक इमान र नैतिकता गुमानुको साथै गम्भिर राजनैतिक अपराध गरेको आरोप लगाए ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश कमिटीका सचिब प्रतापलाल श्रेष्ठले ओलीले मुलुकलाई गम्भिर दुर्घटनातिर लैजान खोजेपनि माधव नेपालको अगुवाईमा नेपालको नयाँ संविधानलाई बचाउने र संसदलाई पुर्नजिविन गर्ने ऐतिहासिक काम भएको बताए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा, प्राध्यापक डाक्टर हुमबहादुर बरुवाल, केन्द्रिय उद्योग विभागका सदस्य याम श्रेष्ठ, अमर बानियाँ लगायतले सत्यको बाटोमा लाग्नेहरुको संख्या कम भएपनि जनताको मनजित्ने एजेण्डा बोकेको पार्टी भएकाले छिट्टै पार्टीको संगठनले देखिने गरि विस्तार हुनेमा जोड दिए।

नेता देउप्रसाद छन्त्यालको अध्यक्षता, कृष्णकुमार विश्वकर्माको स्वागत र रुद्र किसानको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।

Leave a Reply