म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर समस्या भयो । उपचारका लागि उनी बेनी अस्पताल पुगेपछि तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । तर उनको आँखाको ज्योति भने फर्केन । बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुंगनाले भनिन्, ‘अमृतको आँखाको रेटिना पूरै खत्तम भइसकेकाले ज्योति गुम्न गयो ।’ ढिला उपचारका कारण उनले ज्योति गुमाउन पुगेका हुन् ।      गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले प्रदेशमा सेतो पुतली र सापु बढेकाले यसविरुद्ध सचेतना अभियान चलाइएको बताए । म्याग्दीमा सेतो पुतलीको आतंकसँगै झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्र बेनीमा उपचारका लागि आउने बढेका छन् ।                                                                      भदौ १३ पछि कम्तीमा १० जना सेतो पुतलीको झुसले संक्रमीत भएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट ४, नेत्र ज्याति संघ आँखा उपचार केन्द्रबाट ४ गरी ८ जनालाई पोखरा रेफर गरिएको थियो ।                                                     २ जनाको बेनीमै उपचार भइरहेको छ । ‘चारै जनाको आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका थिए । आँखा सुक्खा भइसकेकोले पोखरा रेफर गरेका हौं,’ नेत्रज्योति संघ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले भने ।    पर्वत सदरमुकाम कुश्मा बजार र ग्रामीण क्षेत्रमा पनि भदौ पहिलो सातादेखि सेतो पुतलीको आतंक छ । साँझ बत्ती बाल्ने समयमा देखा पर्ने पुतलीको बाक्लो झुन्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् । यसको झुसका कारण हालसम्म पर्वत अस्पतालको आँखा उपचार केन्द्रमा ३ जना बिरामी आएको अस्पतालले जनाएको छ ।सापुको लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तर उज्यालोमा हेर्न सकिँदैन । आँखाको दृष्टिमा कमी हुन्छ । नानी सेतो हुँदै जान्छ । पिप जम्छ ।  Source ekantipur.com

Leave a Reply