तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका म्याग्देलीहरुको साझा सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको छ l

“म्याग्दी जिल्लालाई विकसित बनाउन आवश्यक मुख्य आधार के के हुन ? प्रवासी म्याग्देलीहरुको संस्था मोनाबाट तपॉईहरुको अपेक्षा के छ ?” शीर्षकको अन्तिम नतिजा प्रकाशित गर्दै दोस्रो चरणबाट उत्कृष्ट १० जना तेस्रो चरणमा प्रवेश गरेको सङ्घले जनाएको छ l

पहिलो चरणबाट छानिएका १२ जना विद्यार्थी मध्य कैलाश मा.बि.दोवाकी मेरिका चोचांगीले उत्कृष्ट १० को प्रतिस्पर्धामा सहभागी हुन् नसके पछि ११ जना प्रतिस्पर्धीबाट १० जना छानिएको हो l

उत्कृष्ट १० मा वेस्ट पोइन्टबाट शिल्पीका जिसी र प्रज्वल मल्ल , प्रकाश माविकी सिर्जना कटुवाल, जमुना खर्क माविबाट विनीता सुबेदी, बेनी सामुदायिक स्कुलकी सुमित्रा पौडेल, सर्वोदय मा.बी.बाट सुशन पुन, श्री सरस्वती मा.बि.बाट सुजल कार्की, भीम मा.बि.देबिस्थानकी सुमिना पुन, म्याग्दी एकेडेमीबाट अनुज खड्का र जनप्रिय मा.बि विजया शर्मा रहनु भएको छ l पहिलो चरणमा अङ्क प्रदान गरे पनि दोस्रो चरणमा ग्रेड प्रदान गरिएको प्रतियोगिताका संयोजक थम कुमार गिरीले जानकारी दिनु भयो l

आयोजक समितिले नतिजा सहित तेस्रो चरणको प्रतिस्पर्धाका लागि “अवास्तविक पढाइ, यसका जटिलता, प्रभावकारिता र समाधानको उपाय सहित स्थानीय सरकारसङ्ग तपाईँहरूको सुझाव सहितको अपेक्षा के के छन्?” भनि प्रश्न समेत सार्वजनिक गरेको छ l

उक्त शीर्षकमा असोज ३ गते साँझ ५ बजे सम्ममा ५ मिनेट नबढाई असम्पादित र मोबाइलबाट तेर्सो गरी खिचिएको भिडियो आयोजकले उपलब्ध गराएको गुगल फर्म या इमेलमा पठाउन सकिने सूचनामा जनाइएको छ ।

उत्कृष्ट १० बाट ५ अन्तिम प्रतिस्पर्धी छानिने कार्य तालिका रहेको सङ्घका अध्यक्ष नरेन्द्र फगामीले पोखरा न्यूजलाई जानकारी दिनु भयो l फगामीका अनुसार यो अन्तिम भर्चुअल रहेको र फिनाले म्याग्दी सदरमुकाम बेनीमा प्रत्यक्ष रूपमा गर्ने कार्य तालिका रहेको बताउनु भयो l

Leave a Reply