---Advertisement---

मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो

On: September 18, 2021 7:57 AM
Follow Us:

हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्याउ टिप्ने सिजन सुरू भएको छ। मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैलेलगायत ठाउँका बगैंचामा स्याउ टिप्न सुरू भएको हो।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन्। मुस्ताङमा असोज लागेदेखि स्याउ टिप्न सुरू गरिएको कृषकहरूले बताएका छन्।

विगतका वर्षहरूमा तीजअघि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रासँग पाकेपछि मात्र टिप्न सुरू गरेको मार्फाका स्याउ किसान दीपक लालचनले बताए।

अहिले स्याउ खरिद गर्न स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारीहरू स्याउ बगैँचामा पुगेका छन्। स्याउ खरिद गर्न म्याग्दी‚ पोखरा, चिवतन‚ धादिङ, काठमाडौंलगायतका ठाउँबाट व्यापारीहरू पुगेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिवा अर्यालले बताए। उनका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन्।

स्याउमा देखियो रोग किराको प्रकोप

स्याउमा ‘स्केल’ जातको रोग, किराको प्रकोप देखिएको छ। रोग र किराको प्रकोपका कारण यस वर्ष गत वर्षको तुलनामा स्याउ उत्पादनका कमी आउने अनुमान गरिएको छ।

जलवायु परिवर्तनका कारण वातावरणमा परेको असरले स्याउमा रोग किराको प्रकोप देखिएको र सोही कारण उत्पादनमा कमी आउने कृषि अधिकृत अर्यालले बताए।

स्याउ खरिद गर्न पिसिआर रिपोर्ट अनिवार्य

मुस्ताङमा यस वर्ष स्याउ टिप्न, खरिद गर्न र मुस्ताङ भ्रमणका लागि कोरोना परीक्षणको पिसिआर गरेको ७२ घण्टाको रिपोर्ट वा एन्टिजेन परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाएको खोप–कार्ड लिएर आउन अनिवार्य गरिएको छ। पिसिआर रिपोर्ट नेगेटिभ भएका र खोप कार्ड लिएर आएकाहरुलाई मात्र प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए।

मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ। केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ। मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउ खेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट तीन क्विन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ। किसानहरूले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता चिज बनाएर बिक्री गर्ने गरेका छन्।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।