नेकपा माओवादीले ७ चैत २०६० मा म्याग्दी सदरमुकाम बेनी आक्रमणमा मारिएका माओवादीका कमाण्डरलाई जनसेवाश्री पदक दिइएको छ।

कालिकोटको नरहरिनाथ गाउँपालिका कमलबहादुर बिष्ट ‘बहुवीर’ र अमरबहादुर किक ‘योद्धा’ लाई मरनोप्रान्त जनसेवाश्री पदकद्वारा विभूषित गरिएको हो।

सातौं संविधान दिवसका अवसरमा कालिकोट नरहरिनाथ गाउँपालिका–८ का बिष्ट र ६ का बिकलाई जनसेवाश्री पदकबाट सम्मान गरिने भएको हो।

विक विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माका भाइ हुन्। दुवैजना माओवादी लडाकुका सहायक बिग्रेड कमाण्डर थिए।

उनीहरू  सदरमुकाम बेनी आक्रमणका क्रममा तत्कालीन शाही नेपाली सेनाको भिडन्तका क्रममा मारिएका थिए।सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले गरेका नौ ओटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यवल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण एक हो ।

बेनी आक्रमणः

नेकपा माओवादीका कार्यकर्ताले २०६० चैत ७ गते शनिबार राति सदरमुकाम बेनीमा भीषण आक्रमण गरे । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण ‘जनयुद्ध’को आठ वर्षको अनुभवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका नौ ओटा आक्रमणमध्ये सैन्य वल र आक्रमणको व्यापकताको दृष्टिले सबैभन्दा ठूलो र लगातार १२ घण्टाभन्दा बढी समय लडेर मध्ये दिनसम्म कब्जा गरेको पहिलो थियो । बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मङ्गलसेन), भेरी-कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती-महाकाली क्षेत्रको तेस्रो (लिस्ने-ग्राम) र गण्डक क्षेत्रको (बासु स्मृति) चौथो ब्रिगेड अन्तर्गतका ६ बटालियनका करिव ५ हजार माओवादी लडाकु सहभागी रहेको तत्कालीन माओवादीले दावी गरेको थियो । माओवादीले प्रयोग गरेका ‘मानव ढाल र अन्य भरिया’ गरी १० हजारको हाराहारीमा म्याग्दी आक्रमणका लागि आएको तत्कालीन माओवादीको दावी थियो ।

बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भई रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै पश्चिम म्याग्दीको ताकम आएको थियो । यसरी थवाङबाट घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि ०६० चैत ७ गते राति १० बजे जिल्ला कारागार, प्रहरी र सैनिक व्यारेकमाथी गोली बर्सँदा सैनिक कमाण्डरहरू आफ्नै संसारमा मस्त थिए । सुत्ने तर्खरमा रहेका सुरक्षाकर्मीलाई पूर्व तयारी बिना एक्कासि भीडन्तमा उत्रनु पर्ने बाध्यता थियो ।

रक्षा मन्त्रालयको विज्ञप्तिमा ५ सय माओवादी मारिएको र माओवादीहरूले १ सय २५ जना ‘शाही सेना’ र २६ जना प्रहरी मारिएको दावी गरे पनि बेनी आक्रमणमा तत्काल पुष्टि भएको भने १७ जना प्रहरी र १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । भिडन्तमा दुवै तर्फगरी सयौँको सङ्ख्यामा घाइते भए । घाइतेहरू मध्येबाट दुवैतर्फके कति मृत्यु भयो, यकिन तथ्याङ्क कहीँ कतै पाईँदैन । बेनी आक्रमणका क्रममा दुई जना बालबालिकासहित १९ जना सर्वसाधारण मारिए ।

बेनी आक्रमणका क्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, डिएसपी रणबहादुर गौतमसहित ४० जना कब्जामा परेका ‘युद्धबन्दी’लाई माओवादी पश्चिम डिभिजन कमिसार नेत्र विक्रम चन्द ‘विप्लव’ र कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ (हालः उपराष्ट्रपति)ले वक्तव्यमार्फत मातृका यादव, शुरेश आले र किरण शर्मालाई मुक्त गर्न सौदा गरे ।

सशस्त्र विद्रोहकालमा टेलिफोन रिपिटर टावर, गाविस भवनहरू, कृषि, भेटेनरी, कृषि विकास बैङ्कलगायतका दर्जनौँ कार्यालय विष्फोट/जलाएर नष्ट पारिए । सदरमुकाम आक्रमणका क्रममा मात्र जिल्ला अदालत, जिल्ला प्रशासन, जिविस, प्रहरी, वन, कारागार, टेलिकमको एक्सचेन्ज स्टेसन, पुस्तकालय, मालपोत, नेपाल बैङ्क, अर्थुङ्गे गाविस कार्यालयलगायत दर्जनौँ सरकारी कार्यालय नष्ट पारिए ।

Leave a Reply