बेनी नगरपालिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु

0

म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको
आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित स्वास्थ्यका
कार्यक्रमहरुको समीक्षा सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्नका लागि
स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले वर्तमान समयमा समुदायस्तरमा पुगेर स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै स्वास्थ्य सेवालाई अझैप्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
गएका वर्षहरुको तुलनामा चालु वर्षमा स्वास्थ्यका गतिविधिहरुलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै नगर प्रमुख श्रेष्ठले विगतमा सञ्चालित कार्यक्रम र गरिएका गतिविधिहरुको गहिरोसँग समीक्षा गरेर नयाँ कार्यक्रमलाई सशक्त बनाएर सञ्चालन गर्नुपर्ने सुझाव
दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य संस्थाहरुबाट सञ्चालित गतिविधि र त्यसले समुदायमा
पारेको प्रभावका बारेमा समीक्षा गर्नुका साथै नयाँ कार्यक्रम लागू गरी सञ्चालन गर्नका लागि विस्तृत रुपमा छलफल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको विशेष उपस्थिति रहेको थियो ।
दुई दिनसम्म चल्ने समीक्षा गोष्ठीमा स्थानीय तह भित्रका स्वास्थ्य संस्थाहरुको तुलनात्मक विश्लेषण गर्ने, कार्यक्रम सञ्चालनमा देखिएका कमी, कमजोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने पक्षहरु पत्ता लगाई लक्ष्य प्राप्तिसम्म पुग्ने मार्ग पहिचान गर्ने उद्देश्य राखिएको छ ।
समीक्षा गोष्ठीको उद्घाटनसत्र बेनी नगरपालिकाका प्रमुख श्रेष्ठको अध्यक्षता र स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो भने अहेव डिल्लीराज आचार्यले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । बेनी नगरपालिकाभित्र स्वास्थ्यचौकी ७, सहरी स्वास्थ्य केन्द्र ४ र सामुदायिक स्वास्थ्य इकाई एक गरी कुल १२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेका छन् । गोष्ठीमा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, सुआहारा र वनहार्ट वल्डवाइड
कार्यक्रमका प्रतिनिधिको समेत सहभागिता रहेको छ । जिल्लाको गाउँपालिकामा रहेका स्वास्थ्य शाखाले भने यसअघि नै वार्षिक समीक्षा गोष्ठी सञ्चालन गरिसकेको जनाएका छन् ।

Leave a Reply