मुस्ताङको माथिल्लो भेकमा नेपालमै पहिलो पटक नयाँ प्रजातिको चरा भेटिएको छ । नेपालमा यसभन्दा पहिला कहिल्यै नदेखिएको चरा उपल्लो मुस्ताङमा देखिएको हो । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–केकीघाङमा युरोपियन रोलर नामक चरा भेटिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रमुख ऋषि बरालका अनुसार एक्याप इलाका संरक्षण कार्यालय, लोमन्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटर उचाईमा रहेको लोमन्थाङ गाउँपालिका–५, केकीघाङमा उक्त चराको तस्बीर खिच्न सफल हुनुभएको हो । बराल भन्नुहुन्छ–‘चरा भेटिएपछि तस्बीर खिचियो र थप पहिचानको लागि चराविद डा. हेमसागर बराल र सोम जीसीलाई पठाउँदा उहाँहरुबाट युरोपियन रोलर नै भएको पुष्टि भएको हो ।’ बराल र जिसीले पनि चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपलाई थप पुष्टिका लागि पठाएको र उहाँहरुले पनि युरोपियन रोलर भएको पुष्टि भए पछि हामीले नयाँ चरा पहिचान गरेकोमा ढुक्क भयौं–बरालको भनाई छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र भित्र यस भन्दा पहिला विभिन्न पाँच सय १८ प्रजातिका चराहरु भेटिएकोमा अब एउटा थप भएको एक्याप जोमसोमका प्रमुख बरालको भनाई छ । नयाँ प्रकारको चरा देखिएपछि गुरुङले तस्बीर खिचेर कार्यालय प्रमुखलाई पठाएकोमा प्रमुखको निर्देशन पछि थप फोटो सङ्कलन भएको हो । लोेमन्थाङ गाँउपालिका केकीघाङ क्षेत्रमा तीन दिनसम्म उक्त चरा देखिएको एक्याप जोमसोमका बरालले बताउनुभयो ।
लोमन्थाङ गाउँपालिकाको छोजुङ गुम्बा पुग्ने वैकाल्पिक पदमार्ग अध्ययन गर्न स्थानीयसँग जाने क्रममा पहिलो पटक उक्त चरा भेटिएको थियो । पहिलो दिन तस्बीर खिचेका गुरुङले उक्त चरा नयाँ हो भन्ने थाहा पाएपछि पुनः केही दिनमा अरु तस्बीरहरु पनि खिच्नुभएको थियो । Gorkhapatra

Leave a Reply