उद्यान उद्यानझैँ छैन भने बोर्डमा नाम मात्रै झुन्ड्याएर के गर्ने ? बागलुङको ‘मदन-आश्रित स्मृति उद्यान’छेउ उभिँदा जो कोहीको मनमा खेल्ने प्रश्न हो यो ।बागलुङ नगरपालिका-१ रामरेखास्थित सो उद्यानको नाम जति श्रद्धापूर्वक राखिएको छ, उति नै त्यसको संरक्षण र रेखदेखमा अनदेखा गरिएको छ ।

जीर्ण र फुङ्ग उडेको प्रवेशद्वार। माथिपट्टि मदनकुमार भण्डारी र जीवलाल आश्रितको धुमिल तस्वीर अङ्कित बोर्ड । भित्र बुट्यान र झाडीले छोपेको उद्यान परिसर, जहीँतहीँ फोहर तथा लत्रिएका तारबार ।

उद्यान भन्नलाई न कुनै पूर्वाधार छ, न साजसज्जा । दिवङ्गत नेताका नाममा बनाइएको उद्यानमा उनीहरुको सालिकसम्म छैन । बेहाल स्थितिमा उद्यान छ । त्यो दुरावस्थाबाट उद्यानलाई ननिकालेसम्म नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको सम्मान हैन, अपमान हुनेछ ।

एमाले बागलुङ नगर कमिटीका संयोजक धनबहादुर परियारका भनाइमा उद्यान अलपत्र मात्र हैन, महाअलपत्र छ । ‘मदन–आश्रितलाई आदर्श मानेर हिँडेका हामी एमालेजनका लागि यो लज्जाको विषय बनेको छ,’ उनले भने ।

उद्यानले स्वरुप ग्रहण गर्न नपाउँदै बीचैमा अलपत्र परेको हो । त्यसो हुनुको अपजस एमाले नेतृत्व पङ्क्तिलाई पनि जान्छ । बागलुङ नगरपालिकाका पूर्वप्रमुख ऋषिराम शर्माका पालामा उद्यानको योजना अगाडि बढेको थियो । रामरेखा सामुदायिक वनको झन्डै तीन रोपनी जग्गा उद्यानले ओगटेको छ ।

एमाले नेता परियारका अनुसार उद्यानको निर्माण, व्यवस्थापन र सञ्चालनबारे पार्टीभित्र खासै छलफल हुने गरेको छैन । ‘उद्यानको समितिमा को आयो, बजेट के छ भन्नेबारे हामीलाई केही थाहा हुँदैन, उनले गुनासो गरे।

उद्यानमा पूर्वाधार निर्माण र सौन्दर्यसम्बन्धी काम गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने परियारको भनाइ छ । उद्यान निर्माण समितिका पूर्वाध्यक्ष केवी राना मगरले बजेट अभावमा सोचे जसरी काम हुन नसकेको बताए ।

झिनो र टुक्रे बजेटले उद्यान नबन्ने उनको भनाइ छ । ‘कतिपय नीतिगत बाधा पनि आए, राज्यले रूख काट्न पाइँदैन भन्छ, उद्यान परिसरमा रूखैरूख छन्, अनि कसरी उद्यान बनाउने ?,’ राना मगरले प्रश्न गरे ।

उनले आफू पोखरासम्म पुगेर उद्यानको डिजाइनकर्ता इन्जिनियरलाई भेटेर काम सुरु गर्न खोजे पनि बजेट नजुट्दा पछि हट्नु परेको सुनाए । पर्यटन कार्यालयबाट आएको रु ६ लाख बजेटबाट सानो एकतले भवन भने बनाइएको उनको भनाइ छ ।

सो भवन पनि संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ । प्रतिनिधिसभा सदस्य एवं उद्यान व्यवस्थापन समितिका पूर्वाध्यक्ष मनकुमारी जिसीले मध्यपहाडी पुष्पलाल लोकमार्ग विस्तार योजनाले उद्यानको काम अन्योलमा परेको बताए ।

‘सडक विस्तार हुँदा कति जग्गा रहन्छ, त्यसपछि बल्ल उद्यानको कामलाई गति दिने भन्ने थियो तर सडक विस्तार भएन, त्यसले पनि अलमल भयो,’ उनले भने । उद्यानको तल्लो र माथिल्लो भागमा लोकमार्ग पर्छ ।

उनले आफू संयोजक हुँदा र पछि निर्माण समितिले पनि घेराबार, भवन निर्माण लगायतको काम गरेको स्मरण गरे । गण्डकी प्रदेश सरकारको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयबाट रु १५ लाख बजेट विनियोजन भएकाले यो वर्ष उद्यान निर्माणको कामलाई अगाडि बढाइने जिसीले बताए ।

हुँदाहुँदा अहिले उद्यान नेतृत्वविहीनको स्थितिमा छ। पछिल्ला वर्षमा उद्यानमा मदन-आश्रितको जन्मजयन्ती र स्मृति दिवससमेत हुन छाडेपछि एमालेजन नै असन्तुष्ट छन् । सोही उद्यानको अगाडिपट्टि रहेको शहीद स्मृति उद्यान पनि वर्षौंसम्म अलपत्र परेर अहिले पुनर्निर्माण हुन थालेको छ ।

उद्यानमा रहेका शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र थीरबम मल्लको सालिकसमेत संरक्षण नहुँदा जीर्ण बनेका थिए । विसं २०५७ मा निर्मित उद्यानमा सालिक, विश्रामस्थल, दृश्यावलोकनस्थल, बगैँचा लगायतका संरचना छन् ।

२९ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्यानको संरक्षणमा बागलुङ नगरपालिकाले देखाएको उदासीनताका बारेमा पटकपटक सार्वजनिक सञ्चारमाध्यम र नागरिक तहबाट आवाज उठ्दै आएको थियो ।

बागलुङ बजारको मुटुमा रहेको वीरेन्द्र-ऐश्वर्य उद्यान पनि संरक्षण अभावमा विरुप बन्दै गएको छ । विसं २०३२ मा बनेको उक्त उद्यान पनि लथालिङ्ग अवस्थामा छ । अनेक नाममा निर्माण गरिने उद्यानमा बर्सेनि राज्यको बजेट खर्च हुने गरे पनि तिनको उचित संरक्षण र व्यवस्थापन हुन सकेको छैन।

Leave a Reply